के सेयर बजार १६२ जनाको नियन्त्रणमा छ ? निरज सापकोटाको विचार

पछिल्ला केही दिनयता सेयर बजार लगातार घट्दो क्रममा देखिएको छ । आइतबार सेयर बजारमा उच्चदरको घटाइले लगानीकर्ताहरुको दिनमा बेचैनी पैदा गरेको छ ।

कारोबारको पहिलो २ घण्टामा १४७ अंकसम्मले बजार घट्यो । अर्थात बजार ५ प्रतिशतभन्दा बढीले घट्न पुग्यो । जसका कारण सेयर बजारमा नकारात्मक सर्किट लाग्न पुग्यो । नकारात्मक सर्किटका कारण बजारमा ४० मिनेट कारोबार बन्द हुन पुग्यो ।

सर्किट ब्रेक पछि भने बजारले केही कमब्याक गरेको छ । आइतबारको कारोबार बन्द हुँदा बजार १०८.२६ अंकले घटेर २८१८.७३ विन्दुमा पुगेको छ ।

लगातार रुपमा सेयर बजार घट्दा एउटा गतिमा अघि बढिरहेको बजारमा तरंग पैदा भएर लगानीकर्तामा भयको बादल मडारिन पुगेको छ । उसो त सेयर बजारको प्रकृति नै घट् बढ्ने हुने खालको हुन्छ । तर पछिल्लो परिदुश्य भने राष्ट्र बैंकको मौद्रिक नीतिको कारण भएको धेरै लगानीकर्ताको आरोप छ ।

राष्ट्र बैंकले हालसालै जारी गरेको मौद्रिक नीतिमा एक व्यक्ति वा संस्थाले एउटा बैंक तथा वित्त कम्पनीबाट ४ करोड रुपैयाँ र अन्य बैंक तथा वित्त कम्पनी समेतगरी बढीमा १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

ठूला लगानीकर्ताहरु आफूले लगानी चाहे जति लगानी गर्न नपाएको झोकमासेयर बजार घटाएका हुन भन्ने आशंका पनि छ । सेयर बजारलाई अर्थतन्त्रको प्रतिविम्ब देखाउने सूचकको रुपमा पनि लिने गरिन्छ । तर यसरी प्रतिविम्ब देखाउने निकाय नै एउटा अर्को निकायको नीतिका कारण अत्याधिक प्रभावित बन्न पुग्नुले सेयर बजार नेपालको अर्थतन्त्रको प्रतिनिधि गर्न सक्दैन भन्ने तर्कलाई बल मिलेको छ ।

तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराईले नेपालको सेयर बजारलाई जुँवाको खालसँग तुलना गरेका थिए । त्यस समय पनि बजार अत्याधिक रुपमा घटेको थियो । अर्थ मन्त्री वा गभर्रनर को बन्छ वा राजनीति माहोल कस्तो हुन्छ भन्ने आधारमा सेयर बजार चल्ने गरेको छ ।

कम्पनीको वास्तविक अवस्थालाई हेरेर भन्दा पनि लगानी गर्ने संस्कारको विकास हाम्रो मुलुकमा भइसकेको छैन । हल्लाको भरमा फलानो कम्पनीको सेयर मूल्य यति पुग्छ भनेर लगानी गरिनछ । अन्तत होसियर नपुर्र्या लगानी गर्नेहरु सडकमा आउन समय लाग्दैन ।

यसको पछिल्लो उद्दारण के हो भने २०७२ सालको भुकम्प र नाकाबन्दीको समयमा आर्थिक वृद्धिदर ऋणात्मक हुँदा समेत सेयर बजार बढेको थियो । यस्ता कारणले पनि सेयर बजार वास्तविक बजारको रुपमा अझै आइपुग्न सकेको छैन भन्ने गरिन्छ ।

सेयर बजार प्रति मानिसको मोह पछिल्लो समय बढ्दो क्रममा छ । सेयर कारोबार गर्नका लागि ४२ लाख ६८ हजार ३५२ वटा डिम्याट खाता खोलिएको छ । मेरो सेयर प्रयोककर्ता ३३ लाख ६१ हजार १७१ छन् । यसको अर्थ तल्लो तहमा समेत सेयर प्रति चासो र आकर्षण बढेको पाइन्छ । कम्पनीहरुलाई आवश्यक पुँजी संकलन गर्न निकै सजिलो बन्दै आएको छ । आइपीओ १० कित्ता पाउन भाग्यको भर पर्नुपर्ने अवस्था छ । यस्तोमा दोस्रो बजार नै लगानीकर्ताका लागि सहज प्रवेश र पहुँच पनि हो । धेरै लगानीकर्ता हुनु सेयर बजारका लागि आफैंमा राम्रो कुरा हो ।

लगानीकर्तालाई सहज र सजिलो हुने खालको नीति नियम बनाउन जरुरी छ । जसले गर्दा सेयर बजारमा लगानीकर्ता थपिएर जसले पुँजीकरणलाई बढाउँदै छ ।

राष्ट्र बैंकको सेयर धितो कर्जाको सीमाले नयाँ लगानीकर्तालाई बजार घट्ने हो कि भन्ने त्रास पनि छ । सेयर धितो कर्जाबाट साना लगानीकर्ता भन्दा पनि ठूला लगानीकर्ताले मात्र लाभ लिइरहेको देखिन्छ । साना लगानीकर्ताले आफूसँगको भएको बचतलाई सेयरमा लगानी गरेका हुन्छन् । ठूला लगानीकर्ताले केही नाफा कमाउने आशमा कर्जा लिएर लगानी बढाएका छन् ।

२०७७/७८ मा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । साढे ४२ लाखभन्दा बढी सेयर लगानीकर्तामा उक्त कर्जा जम्मा ८ हजार ५६४ जनाले मात्र उपयोग गरेका छन् । सेयर लगानीकर्तामध्ये ०.२० प्रतिशतको मात्र यस्तो कर्जामा पहुँच पुगेको देखिन्छ ।

अझ कालिलाग्दो तथ्य त के छ भने १६२ जनाले १२ करोड रुपैयाँभन्दा धेरैले सेयर धितो कर्जा लिएका छन् । उनीहरुले १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा लिएका छन् ।

४ करोड रुपैयाँभन्दा बढी र १२ करोड रुपैयाँभन्दा कम सेयर धितो कर्जा लिने ६३६ जना छन् । उनीहरुले २३ अर्ब १२ करोड रुपैयाँ सेयर धितो कर्जा लिएका छन् ।

यस्तो दुश्यले कतै सेयर बजार मुठी भरका १६२ जनाको कब्जामा त छैन, गम्भिर आशंका र प्रश्न खडा भएको छ ।

सापकोटा त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा एमफील अध्ययनरत छन्

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स