जसलाई हामी जिबन ठानी रहेका छौं त्यो अहिले केवल पैसा कमाउने दौड मात्र हो किनकि हामी यस्तो संसारमा बस्छौं, जहाँ हामी बिना पैसा केही पाउँदैनौं? बजारमा जहाँ गएपनि हामीलाई पैसा चाहिन्छ। पैसाबिना कसैले हामीलाई खाना दिँदैन; पैसा बिना पसलबाट हामी रित्तो फर्कनुपर्छ, किनभने सित्तैमा कुनै माल पाइँदैन।
‘बाप बडा न भैया सवसे बडा रुपैयाँ’ भन्ने एक हिन्दी भनाई त्यतिकै चलेको हैन । यो भनाईले पनि पैसा नै सबैभन्दा महत्वपूर्ण कुरा हो भन्ने भान आजका यस संसारका मानिसलाई लाग्न थालेको छ। पैसा सुख हो, अनि पैसा नै खुसी हो, मानिसलाई पैसा नहुँदा यहि लाग्न सक्छ। यसैकारण हरेक मानिस पैसाको पछि लागेको हामी देख्दछौं। संसारमा दुःख गर्न नखोज्नेहरू असंख्य होलान् तर पैसा कमाउन नचाहनेहरू भने विरलै भेटिन्छन ।
नेपाली मात्रै हैन, संसारभरि कै मानिस पैसाकै लागि धर्तीका कुनाकाप्चा पुगेका छन् , कमाउनमा ब्यस्त छन् र यसो हेर्दा लाग्छ, पैसा बढ्नु भनेको मान्छेको खुसी बढ्नु हो तर के आम्दानी बढ्दै जाँदा खुसीको मात्रा पनि बढ्दै जान्छ ? अझ भनूँ, कति पैसा भयो भने मान्छे खुसी या सन्तुष्ट होला ?
अब प्रश्न यो आउँछ कि जिबन जीवनलाई सहज रूपमा जीउन पैसा त चाहिन्छ तर कति पैसा त? हामी भन्छौं ‘पर्याप्त पैसा.’ तर कति पैसालाई पर्याप्त मान्ने?
एक छाक खान गारो पर्नेले त्यहि छाक टार्ने समस्याको समाधान खोज्ला, ज्याला मजदुरी गर्नेहरू केहि हजारको चाहना राख्लान। जागिरेहरू केहि लाखको सपना देख्लान। व्यापारी र उद्यमीहरूसँग करोडभन्दा मुनिको चाहना र योजना नहोला। सन् ७० को दशकयता पैसा र खुसीबीचको सम्बन्धबारे भएका अध्ययनहरूले मानिसलाई बढ्दो आयले केही खुसी बनाएपनि त्यो एउटा तहमा पुगेपछि घट्दै जाने देखाएका छन्। त्यसैले कति पैसा भए मानिस खुशी या सन्तुष्ट हुन्छ? भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
कति पैसा भए मानिस सन्तुष्ट हुन्छ भन्ने प्रश्न धेरैले भन्ने गर्छन्–खान लाउन पुगोस्। एउटा घर होस्। बालबच्चा पढाउन सकियोस्। बिरामी पर्दा उपचार गर्न सकियोस्। अब यसैमा कसैले थप्न सक्छन् – बेलाबखत मनोरन्जन गर्न पाईयोस्। कम्तीमा एउटा स्थायी नोकरी, एउटा कार र केही बैक व्यालेन्स होस् तर मानिसको मन र इच्छा बढ्दो हुन्छ। चाहना र आकांक्षा यो भएपछि त्यो, त्यो भएपछि अर्को, यसरी बढिरहन्छ जसले गर्दा पैसा, पैसा भन्दै मानिस कुकर्ममा लागेको हामी यसै समाजमा देख्ने गरेका छौ। मानिसले हत्या गर्ने तथ्याङ्क हेर्ने हो भने बढी आर्थिक लेनदेन वा शारीरिक सम्बन्ध नै पाउन सकिन्छ।
हाम्रो संस्कारमा दशैंमा टिका लाउँदा ठूलाबडाले दिने आशिर्वाद पनि धेरै पैसा कमाउनु भनेर दिने गरेको हामीले सुन्ने गरेका छौ । अझ लक्ष्मी पुजामा पैसालाई पुजा गर्ने भन्ने चलन रहेको छ। तर हामी अहिले यस्तो समाजमा बसेका छौ, जहाँ वर्षको एकदिन हैन ३ सय ६५ दिन नै पैसाको पुजा भैरहेको छ । पैसा कमाउने ध्याउन्नमा मानिस भ्रष्टाचारमा लिप्त बन्दैछ। पैसाकै कारण हत्या आतंक मच्चाउँदैछन् । मानिसहरु दिनमा होइन , छिन छिनमा पैसाकै चिन्ता र चासो गरिरहेका छन्। पैसा ! पैसा !! हे पैसा !!! पैसा कमाउने मोहमा मानिस द्रव्यपिपासु बनिरहेका छैनन्? हामीले एक पटक सोचौ त !
आखिर किन जति पैसा भए पनि मानिसलाई पुग्दैन ?
मानिसमा स्वभावले नै अन्य भन्दा बिशिस्ट, शक्तिशाली देखिने चाहना लुकेको हुन्छ। त्यहि बिशिस्ट र शक्तिशाली देखिने चाहना कै कारण ऊँ जायज नाजायज हरेक प्रकारले आफ्नो लोभ पूर्ति गर्न लागि पर्दछ। त्यसैले पैसाको असली मजा पैसामा हैन अन्यको गरिबीमा छ। साँचो कुरा त के हो भने समाजमा अन्य कोहि गरिब नहुने हो भने धनको मजा, व्यक्ति हुनुको मजा नै हराउँदछ। जस्तै एक कोहिनुर हिरा तपाईसंग छ, त्यो हिरा आफुसंग भएकोमा घमण्ड उत्पन्न हुन्छ अब मानिलिनुस त्यो कोहिनुर हिरा तपाईका हरेक छर-छिमेकि इस्ट मित्रसंग पनि भएमा उक्त हिराको मूल्य के रहन्छ ?
यसको मूल्य नै यस कारण छ कि त्यो कुनै खास व्यक्तिसंग मात्र छ। एक सामान्य बुझ्नुपर्ने कुरा के हो भने त्यो हिरा तपाईसंग छ यसको कुनै मूल्य छैन, जब अरुसंग हुँदैन तब मात्र मुल्यबान हुन्छ। धनको सारा शक्ति अन्यसंगको तुलनाका कारण मात्र छ। धनी यसकारण मात्र धनी हो कि अरु गरिब छन्। त्यसैले अरु भन्दा अलग बिशिस्ट देखिन खोज्नुपनि धन संग्रहित गर्नुको मुख्य कारण हो। मनुस्यको हृदय कहिले भरिदैन, न त पैसाले न पदले। पैसा र पद भनेको यस्तो चिज हो मानिसले जति पाउँदछ त्यति नै दरिद्र हुँदै जान्छ।
के धन हुने बित्तिकै सुखी भइन्छ त ?
पैसा नै आज जीवनको आवश्यकता हो जस्तो भएको छ । पैसा नहुँदा जीवन सुख हुन सक्दैन र ? जीवनमा पैसाले नै खुसी ल्याउँछ र ? पैसा नै जीवनको रमाउने साधन हो र ? यो कसरी बुझ्ने होला ! कसलाई सोध्ने होला ! विल गेट्स विश्वका धनी मानिस हुन् । उनी सुखी छन् कि दुखी छन्। उनलाई पैसाले खुशी दियो होला? के पैसा हुने मानिसहरु खुशी होलान त? संसारका धनी मानिस संसारका खुशी मानिसमा पर्छन् त! पैसाले मानिसलाई खुशी बनाउँदछ त! सडकमा माग्नेदेखि लिएर जो कोहीलाई पैसा कसरी कमाउने भन्ने धुन छ। कतिको जीवनको लक्ष्य नै पैसा कमाउने हुने गरेको छ।
पैसाले व्यक्ति कहिले सुखी हुन सक्दैन किनकि सुख, खुशी, यो बहिय कारण या परिस्थितिले नभई आफ्नो मनस्थितिमा भर पर्ने कुरा हो। फेरी अर्को कुरा पैसा, धन आर्जित गर्न मै धनीको सारा उर्जा, सारा सामर्थ्य व्यय भएर जान्छ। उसको पुरा चेतना केवल पैसा, धन आर्जित गर्न मै लाग्दछ, जब कुनै धनी व्यक्ति मर्दछ तब साँप बनेर आफ्नो खजानामा बस्दछ भनेर हामि सबैले प्राय कथा कहानीमा पढेका, सुनेका छौं एक प्रकारले यो कथा सहिपनि हो तर उक्त धनी व्यक्ति मरे पछि साँप बनेको हैन, उ त पहिले देखि नै साँप नै हो।
उसको काम आफ्नो फन उठाएर आफ्नो पैसा को रक्षा गर्नु मात्र थियो। त्यसैले धनीले प्राय धनको भोग स्वयम् गर्न पाउदैन। हामीले देखेकै छौं कि जो व्यक्ति हाय पैसा हाय पैसा भनेर पैसा लाई मात्र प्रेम गर्छन, पैसा कै मात्र पछि भाग्छन तिनको मुहारमा हजारौंको हातमा परेर कोरिएर रगड़ीएर मैलो पैसा जस्तै फिकापन देखिन्छ, बनावटी हाँसो हांसी रहेको देख्न पाइन्छ। यसैले सुखी हुनका लागि केहि उर्जा चाहिन्छ जुन उर्जा धनी व्यक्तिले पैसा कमाउनका लागि मात्र नै खर्च गर्दछ। जुन व्यक्ति जसलाई प्रेम गर्दछ उ त्यस्तै हुन्छ । हो धनले केहि सन्तुष्टी प्राप्त हुन्छ तर आनन्द र खुसि प्राप्त हुँदैन।
पैसा र खुसि आनन्द बीचको सम्बन्ध
अक्सफोर्ड विश्वविद्यालयद्वारा गरिएको एक अध्ययन अनुसार पैसाको अभावमा संसारमा केवल ५% मानिस मात्र दुखि छन् र समझ, बुद्धि बिबेकका अभावका कारण अन्य ९५% मानिस दुखि छन्। एउटा बुझ्नुपर्ने महत्वपुर्ण कुरा के हो भने सुखी हुनु आनन्दित हुनु आफ्नो मानसिकतामा भर पर्दछ।
मेरो यो लेखको आशय धनीको, धन संग्रहको बिरोध पक्कै हैन बरु धनीको मनोविज्ञानको उल्लेख मात्र रहेको छ।
(कार्की विगत १० वर्षदेखि पुँजी बजारमा सक्रिय छन्)