सपनीमा आउन थाल्यौ मन पराकै हौ कि
गुम्सिएका मनका कुरा लुकाकी पो छौ कि।
सोचे आउछ सपनी त मैले पो सोचें कि
लाखौं हजार मनहरूमा तिम्लाई नै रोजें कि।
झझल्को पो लाउन थाल्यौ मन भएरै हो कि
मेरो जस्तै माया गर्ने तिम्रो नि मन छ कि!!
सपनीमा आउन थाल्यौ……….
मन यसै खुशी हुन्छ तिम्रो बोली सुन्दा
धेरै माया गर्यौ कि त कतै मैले भन्दा।
छाया बनी आउन थाल्यौ आफ्नै भनी हो कि
जिन्दगीको यात्रा सँगै गर्न लेख्या छ कि!!
सपनीमा आउन थाल्यौ……….
हाम्रो भेट भएको त्यो प्रसंग थ्यो अर्कै
मलाई पनि आजभोलि लाग्छ माया चर्कै
हरेक यादमा छाउन थाल्यौ मन जितेरै हो कि
तिम्रो मनमा मेरो जस्तै माया बस्या छ कि!!
सपनीमा आउन थाल्यौ……….