हकप्रद सेयर र निष्काशन प्रक्रिया

बाहलवाला सेयरधनीहरुले मात्र खरिद गर्न पाउने सेयरलाई हकप्रद सेयर भनिन्छ । साधारण सेयर निष्काशन गरिसकेका कम्पनीले पुनः साधारण सेयर निष्काशन गर्ने भएमा त्यसरी निष्काशन गरिने सेयर खरिद गर्ने पहिलो हक बाहलवाला सेयरधनीहरुलाई हुन्छ ।

कम्पनीलाई थप पूँजीको आवश्यकता परेको अवस्थामा सञ्चालक समितिले पूँजी वृद्धि गर्न विभिन्न उपकरणहरुको उपयोग गर्ने निर्णय गर्न सक्छन् । त्यस्ता उपकरणहरु या त हकप्रद सेयर हुन सक्छ, या त एफपीओ, डिवेन्चर वा बैंकबाट ऋण लिने ।

यी उपकरणहरु मध्ये कम्पनीलाई थप पूँजी आवश्यकता पर्दा प्रायः हकप्रद सेयर निष्काशन गर्ने गर्दछन् । हकप्रद सेयर निष्काशन गर्नु पूर्व कम्पनीलाई पूँजीको आवश्यकता पर्नुको कारण र प्रयोजन वा औचित्य पुष्टी हुने गरी सञ्चालक समितिबाट निर्णय गर्नु पर्दछ । उक्त निर्णय बार्षिक साधारण सभाबाट पारित गरी कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्नु पर्ने हुन्छ । त्यसपछि धितोपत्र बोर्डमा स्वीकृतिका लागि प्रक्रियाअघि बढ्छ ।

कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्दा नै हकप्रद सेयरको कुल संख्या र वितरण गर्ने अनुपातको बारेमा निर्णय गरिएको हुन्छ । बुक क्लोज गर्ने मिति र ईस्यू म्यानेजर तोकिएको हुन्छ । यसरी बुक क्लोज हुने मितिमा कायम सेयरधनीले जुन अनुपातमा सेयर वितरण गर्ने भनेर निर्णय गरेको हुन्छ, त्यही अनुसारको हकप्रद सेयर खरिद गर्न पाउँछन् । खरिद हुन नसकी बाँकी रहेको हकप्रद सेयरलाई लिलामी प्रकृयाबाट बिक्री गरिन्छ ।

सर्वसाधारणको हकप्रद सेयर प्रति आकर्षण बढ्नुको कारण

नेपालमा हकप्रद सेयर बिक्री गर्दा एकाई सेयरको मूल्य साधारण सेयर निष्काशन गर्दाको मूल्य अनुसार नै राखिन्छ । तर, बजारमा एकाई सेयरको मूल्य धेरै वा थोरै जति पनि हुन सक्छ । बजारमा एकाई सेयरको मूल्य धेरै हुदाँ हकप्रद सेयर सजिलै बिक्री भएका र थोरै हुँदा बिक्री नभएका उदाहरणहरु छन् ।

बजार मूल्य भन्दा कम मूल्यमा हकप्रद सेयर खरिद गर्न पाउने भएपछि सर्वसाधारणको आकर्षण रहनु स्वाभाविकै हो । तर, विदेशमा हकप्रद सेयर निष्काशन गर्दा बजार मूल्य भन्दा केही प्रतिशत कममा एकाई सेयरको मूल्य निर्धारण गरेर निष्काशन गर्ने प्रचलन छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स