अमेरिकी राष्ट्रपति जो बाइडेनको १ वर्षे कार्यकालः ६४ लाख रोजगारी सिर्जना, मूल्य वृद्धि ४० वर्षयताकै उच्च, ब्याजदर बढाउने सम्बन्धमा छलफल

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको कार्यकाल सम्हालेको १ वर्ष पुरा भएको छ । बिहीवार उनको कार्यकालले एक वर्ष पूरा भएको छ । उनको कार्यकालमा विश्व कोरोनाको महामारीले आक्रान्त भएको थियो । र अहिले पनि अवस्थामा केहि सुधार आएपनि यसबाट पुरै बाहिर निस्किसकेको अवस्था भने छैन ।

उनको कार्यकालमा अमेरिकी अर्थतन्त्र कोरोना भाइरसको महामारीबाट बाहिर निष्कदै भएपनि बेरोजगारी घटेको छ, तलब बढेको छ । गत वर्ष भर ६४ लाखको कीर्तिमानी रोजगारी सृजना भएको छ ।

तर, उनको यो १ वर्षे कार्यकालमा मूल्य वृद्धि भने ४० वर्षयता कै उच्च विन्दुमा पुगेको छ । १९८२ यताकै उच्च स्तरमा उक्लिएको मूल्यवृद्धि नियन्त्रणमा भने सरकारले सफलता हासिल गर्न सकेको छैन । मूल्यवृद्धि अमेरिकी सरकारको लागि टाउको दुखाइको विषय बनेको छ ।

सो कारण उनी सत्तामा बसेको १ वर्ष भइसक्दा बाइडेन सरकारप्रतिको जनसमर्थन दर घट्दो क्रममा छ भने उपभोक्ता मनोबल पनि एक दशकभन्दा बढी समययताकै न्यून विन्दुमा ओर्लिएको छ ।

पछिल्लो समय महँगी बढेको छ । गत वर्ष उपभोक्ता मूल्य ७ प्रतिशतमा उक्लिएको छ । यो ४० वर्षयताकै उच्च हो । महामारीका कारण उत्पन्न आपूर्ति श्रृखलामा समस्या र उच्च मागका कारण महँगी बढेको छ । यसले राष्ट्रपतिको बृहत आकारको खर्च योजनालाई धक्का दिइरहेको एजेन्सीले जनाएको छ । महँगीका कारण घरपरिवारहरुलाई दैनिक गुजारा गर्न गाह्रो हुँदै गइरहेको छ ।

यद्यपि बाइडेनले तलबमा भएको वृद्धिलाई आर्थिक पुनःबहालीको संकेतको रुपमा औंल्याइरहेका छन् अवस्थालाई तलब वृद्धिले ढाकछोप गर्न नसक्ने देखिएको छ ।

केन्द्रीय बैंक फेडरल रिजर्भले एक दशकभन्दा लामो समयसम्म शून्यको स्तरमा रहेको ब्याजदर यो वर्ष बढाउनेबारे छलफल गरिरहेको छ । महँगी नियन्त्रण गर्न फेडलाई तत्कालै कदम चाल्न अनुरोध गर्नेको भिड बढेको छ ।

आर्थिक वृद्धिदर

आगामी हप्ता सार्वजनिक हुने क्रममा रहेको तथ्यांकले अमेरिकी अर्थतन्त्र सन २०२१ मा ५ दशमलव ६ प्रतिशतले बढेको देखाउने अनुमान गरिएको छ । अर्थतन्त्रमा एकै वर्षमा भएको यो वृद्धि सन् १९८४ यताकै उच्च हुनेछ । सन् २०२१ को पहिलो अर्धवार्षिक अवधियता तीव्र आर्थिक वृद्धिदरमा सुस्ती आएको छ । वर्षको पहिलो २ त्रैमासमा आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा धेरै थिए । तर तेस्रो त्रैमासमा यो २ प्रतिशतमा सुस्तायो ।

बाइडेनले अर्थतन्त्र तीव्र दरमा बढिरहेको समयमा १९ खर्ब डलरको राहत योजना ल्याए । त्यति बेला सो योजना नचाहिने विश्लेषकहरुले बताएका छन् ।

श्रम बजार

अमेरिकामा बेरोजगारी कोभिड–१९ को महामारी देखिनु पूर्वको स्तर नजिक आएको छ । बाइडेनले सत्ता सम्हाल्नु अघि अमेरिकी बेरोजगारी दर ६ दशमलव ७ प्रतिशत थियो । यो अहिले ३ दशमलव ९ प्रतिशत आसपास छ । अहिले कर्मचारीको खोजीमा १ करोड विज्ञापन आइरहेका छन् ।

अहिले रोजगारदाताको लागि समस्या ठूलो स्तरमा कर्मचारीहरूले दिएको राजीनामा बनेको छ । नोभेम्बरमा मात्रै ४५ लाख अमेरिकीहरुले जागिर छाडेका थिए । बाइडेनले सत्ता सम्हाल्दा २ दशमलव ३ प्रतिशत रहेको मासिक जागिर छाड्नेको अनुपात बढेर अहिले ३ प्रतिशतको उचाइमा पुगेको छ ।

ऊर्जा अभाव

गत वर्षको जनवरी २० यता कच्चा तेलको भाउ ६२ प्रतिशतले बढेर प्रति ब्यारेल ८६ डलरमाथि उक्लिएको छ । अहिले तेलको भाउ सन् २०१४ यताकै उच्च स्तरमा छ । गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको भाउ झन्डै दोब्बर भएको छ । गत वर्षको हिउँदको तुलनामा यस वर्ष प्राकृतिक ग्याँस ३० प्रतिशत महँगो हुने अपेक्षा गरिएको छ ।

सेयर

बाइडेन निवार्चित भए भने सेयर बजार धराशयी हुने चेतावनी सन् २०२० को राष्ट्रपति निर्वाचनमा बाइडेनका प्रतिद्वन्द्वी डोनल्ड ट्रम्पले दिएका थिए । तर बाइडेनको कार्यकालको पहिलो वर्षमा एसएन्डपी १९ प्रतिशतले बढेको छ । जनवरीको अहिलेसम्मको अवधिमा एसएण्डपी ५ प्रतिशतले घटेको छ ।

ऋणपत्रको प्रतिफल

मुद्रास्फीतिमा भइरहेको वृद्धि र ब्याजदर बढाइने सम्भावनाले ऋणपत्रको प्रतिफल अहिले बढेर महामारी शुरुभएयताकै उच्च बिन्दुमा उक्लिएको छ । २ वर्षे ट्रेजरीको प्रतिफल यो हप्ता १ प्रतिशत माथि पुगेको छ । बाइडेनले सत्ता सम्हाल्दा यो शून्य दशमलव १३ प्रतिशत मात्रै थियो । अल्पकालीन र दीर्घकालीन ऋणपत्रको प्रतिफलबीचको न्यून स्प्रेड दरले आर्थिक अनिश्चियतर्फ इंगित गर्दछ । यद्यपि, १० वर्षे ऋणपत्रको प्रतिफल भने यस वर्ष बढेर २ प्रतिशतभन्दा माथि उक्लिने अर्थशास्त्रीहरुको अनुमान छ ।

व्यवसायिक वातावरण

सन् २०२० मा अदालती संरक्षण माग्ने ७ हजार १२९ अमेरिकी कम्पनीहरुमा हट्र्ज, जेसीपेन्नी, चिसापिका इनर्जी आदि थिए । उक्त वर्ष अमेरिकामा टाटपल्टिने कम्पनीको संख्या ८ वर्षकै उच्च स्तरमा उक्लिएको थियो ।

कम्पनीहरु धराशयी बन्ने क्रम सन् २०२१ मा निकै हदसम्म रोकियो । सरकारी खर्चमा भएको वृद्धि र आकस्मिक कर्जा माफी कार्यक्रमहरूबाट साना व्यवसायहरूले टेवा पाएपछि गत वर्षभर ३ हजार ७२४ ओटा कम्पनीहरुले मात्रै अदालती संरक्षणका लागि निवेदन दिएका छन् । यो कम्तिमा पनि चार दशकयताकै न्यून हो ।
एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स