काठमाडौं । कात्तिक १८ गते आइतबार भाइटीका लगाउनुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । यस दिन बिहान ११ः३७ बजे भाइटीकाको शुभ साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने उनले सुनाए । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।
झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि राजधानी लगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेका छन् । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजागरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिनेक्रम पनि सहरी क्षेत्रमा बढ्न थालेको छ ।