काठमाडौं । विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन कार्यकारी समितिले पछिल्लो विपद्बाट प्रभावित पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले उक्त सिफारिस गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।
उनले विपद्तबाट झण्डै चार दर्जन पालिका प्रभावित भएको जानकारी गराउँदै संकटग्रस्त क्षेत्र घोषणा भएपछि सोहीअनुसार पुनःनिर्माण तथा पुनःस्थापनको काम अघि बढ्ने बताए ।
यही असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण मुलुकका विभिन्न स्थानमा दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता छन् । साथै बाढीपहिरोमा परेका १७ हजारभन्दा बढीको उद्धार गरिएको छ । उक्त विपदबाट २५ अर्बभन्दा बढीको भौतिक क्षति भएको जनाइएको छ ।
विपद्बाट १४ वटाभन्दा बढी जिल्लाका पालिका प्रभावित भएका छन् । प्राधिकरणले ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, सङ्खुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङका बढी पालिका प्रभावित भएको जनाएको छ ।