धितोपत्र बोर्ड अध्यक्ष छनोटको प्रक्रिया पुनः रोकियो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोटको प्रक्रिया पुनः रोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी डेंगुका कारण अस्पताल भर्ना भएकाले अन्तर्वार्ता रोकिएको जनाइएको छ । अधिकारी अध्यक्ष छनोटका लागि गठित समितिका संयोजक हुन् ।

संयोजक नै बिरामी भई अस्पताल भर्ना भएपछि छनौट समितिका सदस्यहरु समेत उपस्थित भएनन् । जसकारण सबै तयारी गरी प्रस्तुति दिन निर्धारित समयमै अर्थ मन्त्रालय पुगेका तीनै जना उम्मेद्वार केहीबेर कुरेर फर्किएका थिए ।

आज असोज १८ गते धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका बाँकी ३ उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न सिंहदरबार बोलाइएको थियो ।

तीन उम्मेदवारमा बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्की रहेका छन् ।

यसअघि अन्तिम पाँचजनामा परेका मध्ये यी तीन जना उम्मेदवार अन्तर्वार्तामा सहभागी नभएपछि छनौट समितिले धितोपत्र बोर्ड अध्यक्षको लागि अन्तिम तीन जनाको नाम सिफारिस गर्न सकेको थिएन। जसकारण बोर्डको अध्यक्ष सिफारिस गर्न गठित समितिले गत असार १४ गते सूचना जारी गर्दै सबै प्रक्रिया रद्द गरेको थियो ।

समितिले असार पहिलो साता अध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका संक्षिप्त सूचीमा परेका पाँच जनालाई अन्तर्वार्ताका लागि बोलाएको थियो । पाँचमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गर्ने योजना थियो ।

तर प्रतिस्पर्धीमध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्रै अन्तर्वार्ताका लागि पुगेका थिए । बाँकी तीनजना कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाई र नवराज अधिकारीले भने छनौट प्रक्रिया नै बहिस्कार गरेका थिए । त्यसपछि छनोट प्रक्रिया विवादित बनेपछि उक्त प्रक्रिया नै रद्द गरिएको थियो ।

नयाँ अध्यक्ष नियुक्तिका लागि गत फागुन ३० गतेलाई अन्तिम म्याद राखी आवेदन माग भएको थियो। सरकारद्वारा गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले धितोपत्र बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त आह्वान गरेको थियो ।

बोर्डको अध्यक्ष पद गत पुस २१ गतेदेखि रिक्त रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स