सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः सुरु, तीन उम्मेदवारलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया पुनः सुरु भएको छ।

अर्थमन्त्रालयले एक सूचना जारी गर्दै अध्यक्ष पदमा आवेदन दिने सर्टलिस्टमा परेका ५ जनामध्ये पनि प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी नभएका तीन जनालाई पुनः असोज १८ गते बिहान ८ बजे बोलाइएको हो ।

मन्त्रालयले कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि पुनः बोलाएको हो।

यसअघि अन्तिम पाँचजनामा परेका मध्ये यी तीन जना उम्मेदवार अन्तर्वार्तामा सहभागी नभएपछि छनौट समितिले धितोपत्र बोर्ड अध्यक्षको लागि अन्तिम तीन जनाको नाम सिफारिस गर्न सकेको थिएन। जसकारण बोर्डको अध्यक्ष सिफारिस गर्न गठित समितिले गत असार १४ गते सूचना जारी गर्दै अहिलेसम्मका सबै प्रक्रिया रद्द गरेको थियो ।

समितिले असार पहिलो साता अध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका संक्षिप्त सूचीमा परेका पाँच जनालाई अन्तर्वार्ताका लागि बोलाएको थियो । पाँचमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गर्ने योजना थियो ।

तर प्रतिस्पर्धीमध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्रै अन्तर्वार्ताका लागि पुगेका थिए । त्यसपछि छनोट प्रक्रिया विवादित बनेपछि उक्त प्रक्रिया नै रद्द गरिएको थियो ।

नयाँ अध्यक्ष नियुक्तिका लागि गत फागुन ३० गतेलाई अन्तिम म्याद राखी आवेदन माग भएको थियो। सरकारद्वारा गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले धितोपत्र बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त आह्वान गरेको थियो ।

१९ जनाले आवेदन दिएकोमा ५ जना संक्षिप्त सूचीमा समावेश भएका थिए । बोर्डको अध्यक्ष पद गत पुस २१ गतेदेखि रिक्त रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स