काठमाडौंवासीले घटस्थापना अघिनै मेलम्चीको पानी खान पाउने

काठमाडौं । काठमाडौंवासीले दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

दशैं अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ । मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौंमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

उनले भने, ‘मेलम्चीको पानी असोज दोस्रो साता भित्रै काठमाडौंमा ल्याउने तयारीमा छौं ।’ सोही योजनाअनुसार अहिले काठमाडौंमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत सम्हार गर्ने काम भइरहेको छ । वर्खा याम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षती गर्ने भएका कारण काठमाडौं उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो । बाढीको सम्भावना कम भएसँगै काठमाडौंमा पानी बितरण गर्ने योजना अनुसार तयारी भइरहेको छ ।

काठमाडौं उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको छ ।

काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी छ । मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा एक हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स