आर्थिक रुपान्तरणका लागि पुँजीगत खर्च वृद्धिमा जोड

काठमाडौं । स्थानीय तहले सामाजिक तथा आर्थिक रुपान्तरण गर्न पुँजीगत खर्च वृद्धि गर्नुका साथै बेरुजु न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।

स्थानीय तह, प्रदेश र संघीय कार्यालयबाट गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रम तथा आयोजनाबारे अनुभव आदानप्रदान गर्न शुक्रबार जिल्ला समन्वय समितिद्वारा आयोजित कार्यक्रममा सहभागीले बेरुजु सुशासनमा बाधक रहेको बताएका थिए ।

छलफलमा सरोकार भएकाले सामाजिक तथा आर्थिक रुपान्तरण गर्न बढ्दै गएको बेरुजु न्यूनीकरण गर्नुपर्ने विचार व्यक्त गरे । काठमाडौंका स्थानीय तहले आफ्नो क्षेत्राधिकारको उचित प्रयोग गरी नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने सहभागीले सुझाव दिए ।

काठमाडौंका महानगरपालिका र अन्य दश नगरपालिकाले एक वर्षभित्र गरेका कार्ययोजना, बजेट विनियोजन, पूर्वाधार विकास, निर्माण, सामाजिक विकास, खर्चको अवस्था, बेरुजुको अवस्थाबारे समीक्षा गरिएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलगायत प्रशासकीय अधिकृतले स्थानीय तहमा बजेट र कार्ययोजनाबारे जानकारी दिँदै आगामी दिनमा स्थानीय अधिकार थप बलियो बनाउन जनप्रतिनिधि र कर्मचारीको एकापसमा सहकार्य र समन्वयको खाँचो औंल्याए ।

काठमाडौंका जिल्ला समन्वय अधिकारी लक्ष्मणविक्रम थापाले स्थानीय तहको पूर्वाधार विकास तथा निर्माणमा सम्बन्धित जिल्लाको भूमिका र जिम्मेवारी सशक्त बनाउन आवश्यक रहेको बताउँदै त्यसका लागि समितिलाई थप अधिकार र सुविधा सम्पन्न बनाउन आवश्यक रहेको विचार व्यक्त गरे ।

काठमाडौं महानगरपालिका तथा अन्य नगरपालिकाको कार्यप्रगतिका साथै सांस्कृतिक, सामाजिक पक्षबारे प्रस्तुतिकरण गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स