डिजिटल माध्यमबाट उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता हुने, यस्ता छन् शर्तहरु

काठमाडौं । सरकारले डिजिटल माध्यमबाट हुने सबै प्रकारका भुक्तानीमा ग्राहकलाई मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै डिजिटल माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरुप १० प्रतिशत कर रकम फिर्ता गर्न निर्देशन दिएको हो । विभागले भदौ २१ गते यस्तो निर्णय गर्दै यस्तो व्यवस्था मिलाउनलाई परिपत्र गरेको हो ।

जसअनुसार क्यूआर कोड, मोबाइल बैंकिङ, डेबिट क्रेडिट कार्ड जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत भ्याट फिर्ता पाउनेछन् । यसका लागि सम्बन्धित भुक्तानी प्रदायकले १० प्रतिशत भ्याट फिर्ता बापतको रकम ग्राहकको खातामा तुरुन्तै फिर्ता हुने व्यवस्था मिलाउनलाई विभागले निर्देशन दिएको छ।

विभागले आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई सो व्यवस्था कार्यान्वयन गर्न सूचित गराएको छ । उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने सेवाहरूमा मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेनागृह/रेस्टुरेन्टबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवाहरु रहेका छन् ।

यस्ता छन् सर्तहरू

१. मूल्य अभिवृद्धि करमा दर्ता भई विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता यस प्रणालीमा आबद्ध हुन सक्नेछन् ।

२. डेबिट/क्रेडिट कार्ड, क्यू.आर. कोड, मोबाइल जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने विक्रेताले मूल्य अभिवृद्धि करको दश प्रतिशत रकम उपभोक्ताको बैक खातामा स्वचालित रूपमा फिर्ता गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।

३. विद्युतीय बीजक सम्बन्धी कार्यविधि, २०७४ (संशोधन सहित) बमोजिम आन्तरिक राजस्व विभागमा सूचीकृत भएका विद्युतीय उपकरण तथा सफ्टवेयर आपूर्तिकर्ताले ‘विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया, २०७६’ बमोजिम प्रणालीमा सामञ्जस्य हुने गरी आफ्नो सफ्टवेयर परिमार्जन गर्न सूचनाबाट जानकारी गराइएको छ ।

४. सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायकले ‘विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया, २०७६’ बमोजिम प्रणालीमा परिमार्जन गरी यो प्रणाली कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने छ ।

५. प्रणालीमा आबद्ध बिक्रेताले आफ्नो कारोबार स्थलमा विद्युतीय भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता हुने सुविधा रहेको सूचना सार्वजनिक गर्नुपर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स