काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को ‘नाडा अटो शो २०२४’ भोलिदेखि सुरु हुँदैछ । यस वर्षको ‘नाडा अटो शो २०२४’ भोलि भदौ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुन लागेको हो ।
उक्त प्रदर्शनीमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।
नाडा अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले भाग लिने आयोजक नाडाले जनाएको छ । यी बैंक तथा वित्त कम्पनीहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।
यस पटकको नाडा अटो शोमा २४ वटा ब्राण्डका चारपांग्रे सवारी, १९ ब्राण्डका दुईपांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारीसाधन प्रदर्शनसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहने आयोजक नाडाले बताएको छ ।
६ दिनसम्म चल्ने उक्त प्रर्दशनीमा करिब ७५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
प्रर्दशनीमा बीवाइडी, टाटा, हुन्डाई, एमजी, नेटा, स्काईवेल, किया महिन्द्रा, दिपल, सेरेस, जीएसी एवोन, ओमोडा र सिट्रोन लगायत कार ब्रान्डको सहभागिता जनाउने भउका छन् ।
‘नाडा अटो शो २०२४’ यी गाडी हुँदैछ सार्वजनिक
हुन्डाई गाडी बिक्री गर्दै आएको लक्ष्मी ग्रुप अन्तर्गतको नयाँ कम्पनी लक्ष्मी ई–मोविलिटीले मेला स्थलबाटै केई ब्रान्डका तीनवटा मोडल लन्च गर्ने तयारी गरेको छ ।
नाडा अटो शोमा चाँगान नेपालले दिपल एल०७ प्रिमियम ईभी सार्वजनिक गर्ने भएको छ । डिजाइनका हिसाबले एल०७ सेडानलाई एल०७ जस्तै मास्टरपिस भन्न सकिन्छ । फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टम सहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई अझ अब्बल बनाएको छ । पानारोमिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन ओपन र लक्जरियस अनुभव दिलाउने कम्पनीको भनाइ छ ।
भोल्ट्स ईभीको बिक्रेता एस क्यूव इन्टरप्राइजेजले सो ब्र्रान्डको नयाँ ह्याचब्याक कार एचईभी ४०० लन्च गर्नेछ भने सांग्रिाल मोटर्सले लिप मोटरको नयाँ एसयुभी सी–१० सार्बजनिक गर्ने तयारी गरेको छ ।
नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले बहुप्रतिक्षित लक्जरी एसयूभी जिकर एक्स सार्वजनिक गर्ने भएको छ । यसको मूल्य क्रमशः ९० लाख र १ करोड ६० लाख रुपैयाँ तोकिएको छ ।
सांग्रिला मोटर्सले लिपमोटरको ‘सी१०’ मोडेलको ईभी सार्वजनिक गर्ने जनाइएको छ । सांग्रिला मोटर्स हाल नेपालमा सिट्रोन र प्युजो गाडीको आधिकारिक बिक्रेता हो ।
नेटाले हाल बिक्री गर्दै आएको भी मोडलसँगै नयाँ एसयूभी एक्स मोडललाई समेत प्रदर्शन गर्ने तयारी गरेको छ ।
सेरेसले सेरेस३ को फेसलिफ्ट, स्काईवेलले ईटी५, कियाले ईभी६ र ईभी९, हुन्डाईले आयोनिक५ तथा कोना ईभी, महिन्द्राले एक्सयुभी ४००, ओमोडाले ई५, सिट्रोनले ईसी३ र जीएसी एवोनले वाई मोडल लगायत ईभी प्रदर्शन गर्नेछन् ।
लक्ष्मी ई मोबिलिटीले ‘केई’ का तीन वटा नयाँ मोडेलका गाडी सार्वजनिक गर्ने भएको छ । नाडामा सार्वजनिक हुने यी तीन वटा गाडीका मोडेलको सहि नाम बताउने व्यक्तिलाई पुरस्कार दिने घोषणा कम्पनीले गरेको छ ।
चाँगान नेपालले दिपल एल०७ प्रिमियम ईभी सेडान सार्वजनिक गर्ने भएको छ ।
ओमोडा ईभी बिक्री गर्दै आएको शारडा ग्रुप अन्तर्गतको एसपिजी अटोमोबाइल्सले अर्को नयाँ ब्रान्ड जेकोको अफरोडर एसयूभी जे६ लाई औपचारिक लन्च गर्ने भएको छ । साथै, सोही ग्रुप अन्तर्गतको अर्को कम्पनी पायोनियर मोटोकर्पले जिकर ब्रान्डलाई औपचारिक रुपमा सार्वजनिक गर्ने जनाएको छ ।
एमजीले जेडएस इभी, एमजी–४ र कोमेट ईभीसंगै नयाँ प्रिमियम कार साइवरस्टरलाई शोकेस गर्ने तयारी गरेको छ ।
त्यस्तै, बीवाईडीले नाडा अटो शोमा एट्टो थ्री र डल्फिन गाडी राख्ने भएको छ । यी गाडी एड्भान्स र सुपेरियर गरी दुई वटा भेरियन्टमा उपलब्ध छ । बीवाईडी एट्टो थ्री २०२४ को एड्भान्स भर्सनको मूल्य ५६ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ भने सुपेरियर भर्सनको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।
टाटाले माइक्रो एसयूभी पन्च ईभीलाई लन्च गर्ने जनाएको छ । टाटाको स्टलमा दर्शकले नयाँ मोडल पन्चसँगै हाल बिक्री हुँदै आएका नेक्सन र टियागो ईभीलाई समेत अवलोकन गर्न पाउनेछन् ।
सिजी मोटर्सले नेपाल ल्याएको एक्सपेङ,रिडारा र अवतार ब्राण्ड औपचारिक रुपमा लन्च हुने तयारी गरेको छ । एमएडब्लु ग्रुपले डोङफेङ ब्रान्ड अन्तर्गतको नामी ईभीलाई प्रदर्शनीमा राख्ने भएको छ ।