साढे ६ करोड लागतमा पालिकाको भवन निर्माण

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदिकाली गाउँपालिकाले करिब साढे ६ करोड लागतमा प्रशासकीय भवन निर्माण गरेको छ । पालिकाले बौदिकाली–२ डेढगाउँमा ६ करोड ३४ लाखको लागतमा तीन तले प्रशासकीय भवन निर्माण गरेको हो ।

आफ्नै प्रशासकीय भवन नहुँदा भाडामा बस्दै आएको पालिका यसैसाता नयाँ भवनमा सर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतले बताए । ‘पालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु नयाँ प्रशासकीय भवनबाट प्रदान गरिनेछ’, उनले ‘२८ कोठा रहेको भवनमा एउटा आवाससहित कृषि, पशु, पूर्वाधार, स्वास्थ्य, शिक्षा, पञ्जीकरण एवम् पालिकाको सम्पूर्ण शाखा रहनेछन् ।’

भाडाको घरबाट सेवा प्रवाह गर्दा कठिन भइरहेको अवस्थामा आफ्नै भवन निर्माण भएपछि सबै सेवा सहजरुपमा प्रवाह गर्न सकिने उनको भनाइ छ । वि.सं २०७९ वैशाखमा सम्झौता भएर कामाख्या बिएम जेभी नुवाकोटले निर्माण गरेको भवन म्याद अगावै सकेको गाउँपालिकाका सबइन्जिनियर विजय कँडेलले जानकारी दिए ।

करिब चार सय ७० वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रशासकीय भवनको सबै काम सकिएको जनाउँदै उनले विद्युत् जडान गर्नमात्रै बाँकी भएको बताए । विद्युत् जडान गरेपछि भवनमा सर्ने तयारी गरिएको भए पनि निर्माण कम्पनीलाई १ करोड ५६ लाख रकम तिर्न बाँकी रहेको कँडेलले जानकारी दिए ।

पालिकाको प्रशासकीय भवन अपांकतामैत्री हुनेगरी निर्माण गरिएको उनको भनाइ छ । ‘पालिकामा सबै प्रकारका सेवाग्राही सेवा लिन आउनुपर्ने हुन्छ’, उनले, ‘प्रायः सार्वजनिक कार्यालय अपाङ्गतामैत्री नभइरहेको अवस्थामा हामीले निर्माण गरेको नयाँ भवन अपाङ्गतामैत्री छ, सबै सेवाग्राहीले सहजरुपमा सेवा प्राप्त गर्न सक्नुहुनेछ ।’ भवनमा विद्युत् प्रवाह सहज बनाउन एक सय ५० केभीएको ट्रान्सफर्मरसमेत जडान गरिएको उनको भनाइ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स