स्वास्थ्य बीमाको हालको दायरा कम्तीमा पाँच लाख बनाइने: स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको हालको दायरा कम्तीमा पाँच लाख बनाइने बताएका छन् । आज मन्त्रालयमा स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘स्वास्थ्य बीमाको हालको दायरा कम्तीमा पाँच लाख बनाउने गरी फराकिलो बनाउने, सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आबद्धतालाई द्रुत गतिमा बढाउन र स्वास्थ्य बीमाको नीतिगत र कानूनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने छ ।’

उनले राजधानीमा सुविधासम्पन्न स्नायु रोग उपचार केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले यथाशिघ्र केन्द्र स्थापनाका लागि पहल गरिने बताए । मन्त्री पौडेलले वाग्मती बाहेकका अन्य ६ प्रदेशमा सहिद गंगालाल हृदय केन्द्रको समन्वयमा मुटु रोग उपचारको सेवा विस्तार, सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिने बताए ।

उनले वैदेशिक रोजगारीमा जाने र गएका नेपाली नागरिकको मृत्युदर घटाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको सहकार्यमा वैदेशिक रोजगारीमा जाने नागरिकको स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाइने योजना रहेको बताए ।

मन्त्री पौडेलले बीमा सेवा सुधार गर्नका लागि आवश्यक रणनीतिले ल्याइने बताए ।

उनले नसर्ने रोगको भार बढेको उल्लेख गर्दै मन्त्रालयमा नसर्ने रोग र मानसिक स्वास्थ्य हेर्ने छुट्टै इकाइ स्थापना गरिने बताए । उनले आयुर्वेद र वैकल्पिक चिकित्सा, उपचारात्मक सेवा विस्तार र विकास, औषधि, गुणस्तर र नियमन, पोषण, स्वास्थ्य जनशक्तिको व्यवस्थापनका लागि एकीकृत स्वास्थ्य सेवा ऐनको तर्जुमा गरिनेलगायतका विषयमा आफ्ना कार्ययोजनाहरु प्रस्तुत गरे ।

‘स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफलपछि मैले प्राथमिकता छुट्याएको हुँ । यी विषयलाई कार्यान्वयनको प्रतिबद्धता जनाउँछु’, मन्त्री पौडेलले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स