सेयर बजार उकालो लागेपनि नियामक निकायको भूमिकामाथि प्रश्न उठेको छ : वर्षमान पुन

काठमाडौं । धितोपत्र बजारलाई थप व्यवस्थित र मर्यादित बनाउन कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र नियामकीय क्षमताको सुधारमा जोड दिइएको छ ।

अर्थ समितिको आजको बैठकमा सांसदहरूले बजारको स्थायित्वका लागि विद्यमान नीति तथा नियमको कार्यान्वयन, समसामयिक सुधार तथा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिएको हो ।

समितिको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद वर्षमान पुनले सेयर बजार उकालो लागेपनि नियामक निकायको भूमिकामाथि आम मानिसको प्रश्न रहेको बताए । उनले पुँजी बजारमा स्वच्छ कारोबार र आवश्यक व्यवस्थापनका लागि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्नेमा जोड दिए ।

समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार मर्यादित र व्यवस्थित हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको भएपनि त्यसलाई लिएर गलत प्रचार गरिएको गुनासो गरे ।

धितोपत्र बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुक्ष्म निगरानी गर्नुपर्ने डा.महतको भनाइ छ ।

सांसद मेटमणि चौधरीले धेरैको लगानी रहेको धितोपत्र बजारमा कमजोर कम्पनीको सेयर मूल्यमा देखिएको अस्वाभाविक वृद्धिको खोजी गर्नुपर्ने बताए ।

बैठकमा सांसदहरू सूर्य थापा, जुलीकुमारी महतो, नारायणी शर्मा, छिरिङ लामालगायतले बजारको स्थायित्वका सन्दर्भमा नियामक निकायले विशेष ध्यान दिनुपर्ने बताए । बजारको क्षमता विस्तारका लागि बोर्डको भूमिका थप प्रभावकारी बनाउनुपर्ने उनीहरूको भनाइ थियो ।

बैठकमा बोर्डको अध्यक्षको भूमिकासमेतमा रहेका अर्थ मन्त्रालयका सहसचिव महेश बरालले बोर्डको क्षमता वृद्धिका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गरे । उनले बजारको हल्लाका पछाडि लागेर सेयर बजारमा लगानी गर्न नहुने बताए ।

धितोपत्र बजारसम्बन्धी सूचना सबै क्षेत्रमा पुर्‍याउन नसकिएका कारण कतिपय अवस्थामा साना लगानीकर्ता मर्कामा पर्न सक्ने भएकाले ध्यान दिन उनले आग्रह गरे । बरालले चालु आवको मौद्रिक नीतिले गरेको सहजीकरणका कारण बजार उकालो लागेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स