टेलिफोन मार्फत पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति नाफिजको गम्भिर ध्यानाकर्षण

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले पत्रकारलाई टेलिफोन मार्फत ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नाफिजले एक विज्ञप्ति जारी गरि संघको कोषाध्यक्ष एवम् क्यापिटल नेपाल डटकमकी पत्रकार दिलु कार्कीलाई समाचार लेखेकै आरोपमा अमुक व्यक्तिबाट ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

अष्ट्रेलियाबाट एक व्यक्तिले टेलिफोन गरी पत्रकार कार्की र उनका परिवारका सदस्यलाई समेत तथानाम गाली गलौज र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नाफिजले घोर भर्त्सना गर्दै यस्तो घृणित कार्यको निन्दा गरेको छ ।

‘टेलिफोन गरेर पत्रकार र उनको परिवारको ज्यान लिने धम्की दिनु आपराधिक कार्य हो । यस्तो कार्यमा संलग्न जो कसैमाथि छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउन नाफिज सरकारसँग जोडदार माग गर्दछ । समाचार लेखेकै विषयमा चित्त नबुझे सो पक्षले कानुनी उपचार खोज्ने आफ्नै विधि छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘ती उपायहरू अवलम्बन गर्न सक्ने बाटो हुँदाहुँदै गैरकानुनी कार्य गर्नु नितान्त गलत कार्य भएकोमा यस संघ एक मत छ। प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि गतिविधिको नाफिज भर्त्सना गर्दछ।’

समाचार लेखेकै कारण धम्क्याउने, तर्साउने र बिचलित गराउने कार्यबाट पछि नहटी स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्न नाफिजले दिलु कार्की र सम्पूर्ण नाफिज सदस्यहरूलाई अनुरोध गरेको छ।

साथै, यस्ता गैरकानुनी कार्य विरुद्ध संघ सदैव आफ्ना सदस्यहरूको साथमा रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स