काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए ।
जसमध्ये ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण(ग्रेडेड) भएका छन् । त्यस्तै, ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड(एनजी र अनुत्तीर्ण) भएका छन् ।
एनजीमा पर्ने मध्ये दुई विषयसम्म नन्ग्रेडेड हुने विद्यार्थीले मात्र पुरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । ‘सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा एनजी प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले मौका (पुरक) परीक्षामा सहभागी हुन पाउने छन,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुरक परीक्षाको विस्तृत जानकारी समय तालिकासम्बन्धी सूचनामा उल्लेख गरिनेछ ।’
गत असारमा प्रकाशित एसईईको नतिजामा ४८ प्रतिशत विद्यार्थी एनजीमा परेका थिए । एसईईमा भने सबै विषयमा एनजी ल्याउने विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।