काठमाडौं । हाम्रोअर्थ डटकमको चौथो वार्षिक उत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश व्यक्त गरेका छन् । शुभकामना सन्देश व्यक्त गर्दै उनले राष्ट्रका अभिभारा पूरा गर्न हाम्रोअर्थले महत्वपूर्ण भूमिका लेख्ने विश्वास व्यक्त गरेका हुन् ।
सन्देशमा उनले भनेका छन्, ‘राष्ट्रका अभिभारा पूरा गर्न सरकारले अघि सारेको सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको यस आन्दोलनलाई जनसमक्ष विस्तार गर्न हाम्रोअर्थ डटकमले महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने मेरो विश्वास छ ।’
प्रधानमन्त्रीको ओलीको शुभकामना सन्देश
परिसूचक मिडिया प्रालिद्वारा संचालित हाम्रोअर्थ डटकम आफ्नो स्थापनाको चौथो वर्षमा प्रवेश गरेका अवसरमा म सफलताको शुभकामना व्यक्त गर्दछु । सञ्चार क्षेत्रको गरिमा विस्तारमा निष्पक्ष र तथ्यगत समाचार प्रस्तुति आवश्यक छ । सञ्चार जगतले निष्पक्षताको अत्यावश्यक गुण गुमाउँदै गयो भने त्यसको ठाउँमा भ्रमहरु विस्तार हुन थाल्छन् ।
सकारात्मक सामाजिक विकासलाई निषेध, अस्थिरता र अराजकताको प्रवद्र्धन गर्ने यस प्रवृत्तिलाई निरुत्साह गर्न सञ्चार क्षेत्र नै सक्रिय रहनु पर्दछ । तथ्यहीन, पूर्वाग्रही र गैर व्यवसायिक चरित्रका कारण स्खलित र अविश्वसनीय हुन पुगेको सञ्चार जगतको गरिमालाई प्रवर्द्धन गरी यसलाई तथ्युक्त, विश्वसनीय, निष्पक्ष अंगका रुपमा स्थापित गर्न मुलुकको सञ्चार क्षेत्रले सफलता पाउन सकोस् भन्ने कामना गर्दछु ।
अहिलेको सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान छ । त्यसैले प्रेस स्वतन्त्रताप्रतिको हाम्रो निष्ठा व्यवहारसिद्ध छ । समाजको महत्वपूर्ण अंगको भूमिका पाएको प्रेस जगतले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्नेगरी जिम्मेवार भूमिका खेल्न सक्नु पर्दछ ।
अहिलेको सरकारले राष्ट्रका अभिभारा पूरा गर्ने गन्तव्य निर्धारण गरेको छ । यस उद्देश्यलाई प्राप्त गर्न हामी स्पष्ट दूरदृष्टि, तदअनुसारका नीति र कार्यक्रमहरु एवं ती नीति र कार्यक्रमहरुलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यहरु सहित अघि बढिरहेका छौ ।
राष्ट्रका अभिभारा पूरा गर्न सरकारले अघि सारेको सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको यस आन्दोलनलाई जनसमक्ष विस्तार गर्न हाम्रोअर्थ डटकमले महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने मेरो विश्वास छ ।
अन्त्यमा हाम्रोअर्थ डटकमको चौथो वर्ष प्रवेशका अवसरमा सफलताका लागि पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।