काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) र सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन) बीच विद्यार्थीहरुको ज्ञान सीप र क्षमता अभिबृद्धि गर्नका लागि समझदारी कायम गरिएको छ ।
मंगलबार नेक सिपिएसमा दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गर्दै विभिन्न अनुसन्धान गतिविधिहरू, गोष्ठी, सम्मेलन र जर्नलहरूको आयोजना र सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न सहकार्य गरिएको बताए ।
नेक र सोटेन बीचको सम्बन्धलाई बलियो बनाउँदै नेपालको यातायात क्षेत्रको विकास, सुधारका लागि सहकार्य गरिएको कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले बताए । समझदारी पत्रमा दुवै पक्षले संस्थागत क्षमता अभिवृद्धि कार्यक्रमलाई व्यवस्थित गर्ने, यातायात क्षेत्रका विभिन्न पक्षसँग सम्बन्धित सेमिनार, कार्यशाला, तालिम र गोष्ठिहरु गर्ने भनिएको छ ।
‘यो समझदारीले दुवै पक्षको संस्थागत विकास, क्षमता अभिबृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आशावादी छौं । साथै, कलेजका विद्यार्थीहरुलाई समेत विषयगत ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्नमा सहयोग पुग्नेछ ।’ नेकका कार्यवाहक प्रिन्सिपल भण्डारीले भने ।
समझदारी पत्रमा दुवै पक्षले संयुक्त अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने, स्रोतहरू र विशेषज्ञताहरू साझेदारी गर्ने, रिपोर्टहरू प्रकाशित गर्ने र अनुसन्धानका निष्कर्षहरू व्यावहारिक रुपमा कार्यान्वयनमा जोड दिने, शिक्षाविद् र उद्योगबीचको सहकार्यलाई बढावा दिने, यातायातका सम्बन्धित कुनैपनि क्षेत्रमा नेकका विद्यार्थीहरूको सहभागितालाई प्राथमिकता दिने र त्यसका लागि प्रत्येक आर्थिक वर्षको लागि उपलब्ध स्रोतहरूको आधारमा संयुक्त रूपमा योजना बनाई कार्यान्वयन गरिने भनिएको छ ।
नेक र सोटेनको सहकार्यले राष्ट्र निर्माणको लागि प्राविधिक र व्यावसायिक क्षमता अभिबृद्धि गर्नुको साथै यातायात क्षेत्रको विकासमा समेत टेवा पुग्ने सोटेनका अध्यक्ष इन्जिनियर राजेन्द्रराज शर्माले बताए ।
सोटेन नेपालको यातायात क्षेत्रमा काम गर्ने इन्जिनियरहरूको समुहद्वारा २००९ मा स्थापना भएको गैरनाफामुलक व्यावसायिक संस्था हो । यसको सदस्यतामा सरकारी एजेन्सीहरू, निजी फर्महरू र व्यापार, र शैक्षिक संस्थाहरूमा काम गर्ने यातायात इन्जिनियरहरू छन् । नेक र सोटेनबीचको सहकार्य चार वर्षसम्मका लागि गरिएको छ । समझदारी पत्रमा सोटेनका महासचिव इन्जिनियर हेमन्त तिवारी, नेक सिपिएस निर्देशक प्रा.डा. तुसिता चाँदनी शाही समेतले हस्ताक्षर गरेका छन् ।
इन्जिनियरिङ विधामा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सन् १९९४ मा स्थापना भएको नेकमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।