काठमाडौं । सरकारले कोभिड-१९ बाट प्रभावित परिवारलाई राहत स्वरुप दिने भनेको १० हजार रुपैयाँ अनुदान लिन अग्रिम निवेदन दिनुपर्ने भएको छ ।
बिहीबार अर्थ मन्त्रालयले एक सूचना जारी गर्दे १० हजार रुपैयाँ अनुदान लिन १५ दिनभित्र बसोबास गरिरहेको स्थानीय तहको वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको हो ।
यो कार्यक्रमको लागि सरकारले ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
कोरोनाका कारणले रोजगारी गुमाएका, श्रमिक, मजदुर, फुटपाथ व्यापारीहरूले तथा कोरोना लागेर परिवारको मुख्य व्यक्तिको निधन भइ गुजारा टार्न कठिन भएका जस्ता परिवारले उक्त अनुदान पाउने बताइएको छ ।
अर्थमन्त्री जनादर्न शर्माले प्रतिस्थापन बजेट मार्फत कोरोना महामारीबाट प्रभावित पाँच लाख परिवारलाई यो वर्ष राहत स्वरुप १० हजार अनुदान दिने कार्यक्रम ल्याएका हुन् ।