काठमाडौं । आज भएको सौर्य एयरलाइन्स विमान दुर्घटनामा कुल १९ यात्रु सवार रहेका थिए । जसमा दुई चालकदल र १७ जना यात्रु सवार रहेका थिए ।
विमानभित्र रहेका यात्रु सबै सौर्य एयरलाइन्सको कर्मचारी रहेका छन् ।
कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार विमानमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, आस्विन निरौला, सुदिपलाल जोशी, सार्वेश महर्जन, श्याम बिनुदुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्व पुरी यग्य प्रसाद पौड्यल, सन्तोष महत, पुन्य रत्न सामी, आरिफ रिडा सवार रहेका थिए।
काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।
विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा संकलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।
उनले संकलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।