आजदेखि १२ औं राष्ट्रिय जनगणना, राष्ट्रपतिसँग ९.३० बजे तथ्यांक लिइने

काठमाडौं । आज बिहिबारदेखि हरेक १० वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ को मुख्य गणना कार्य सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त गणना कार्य सुरु गर्न लागिएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिललाल श्रेष्ठले जानकारी दिए ।

‘राष्ट्रपतिज्यूको निवास शीतल निवासमा बिहान ९.३० बजे विभागको टीम गएर राष्ट्रपतिसँग गणनाको तथ्यांक संकलन गर्ने कार्यक्रम रहेको छ,’ उनले भने ‘ ११ बजे प्रधानमन्त्रीसँग समय लिएका छौं भने उपराष्ट्रपतिले १ बजे समय दिनु भएको छ ।’

कति छन् गणक र सुपरीवेक्षक

राष्ट्रिय जनगणनाको लागि ४० हजार गणकहरू खटाइएको छ भने ८ हजार ५०० सुपरीवेक्षक परिचालन गरिएको उनले बताए । गणकहरूले प्रत्येक घरपरिवारमा पुगेर ८० वटा प्रश्न सोधेर तथ्यांक संकलन गर्ने छन् । कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने गणना गर्न औसतमा २० मिनेट लाग्ने हिसाव विभागले निकालेको छ ।

सामुदायिक प्रश्न पनि समावेश

देशभरका ५ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी संकलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने महानिर्देशक श्रेष्ठले बताए ।

उनका अनुसार जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यसअन्र्तगत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् ।

जनगणनामा काठमाडौं महानगरपालिकासहित ५ नगरपालिकामा डिजिटल पद्दतिमा आधारित क्यापीविधि प्रयोग गरी ट्याब्लेटबाट तथ्यांक संकलन गर्ने तयारी विभागले गरेको हो । यसका लागि विभागले २२ वटा ट्याब्लेट खरिद गरेको छ । देशभरका अन्य स्थानमा कागजी प्रश्नावली प्रयोग हुनेछ ।

३ करोड नपुग्ने, प्रारम्भिक रिपोर्ट ३ महिनामा

महानिर्देशक श्रेष्ठका अनुसार घरपरिवार सूचीकरणका आधारमा यसपटकको जनगणनामा नेपालको जनसंख्या तीन करोड नपुग्ने अनुमान गरिएको छ । जन्मदर घटेका कारण अनुमान गरेअनुसारको जनसंख्या नभएको उनले बताए । सूचीकरणमा छुटेकाहरू पनि मूल गणनामा समावेश हुने भएकोले अहिले केही भन्न नसक्ने उनले बताए । तीन महिनाभित्र जनगणनाको प्रारम्भिक प्रतिवेदन ल्याइने र पूर्ण विवरण आउन दुई वर्षको समय लाग्ने समेत उनले जानकारी दिए ।

कालापानी, लिपुलेक र लिम्पियाधुरामा स्याटलाइटबाट घरधुरीको गणना गरिने

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक तवरबाट पहल भइरहेको जानकारी दिए । ‘यदि भारतले अनुमति दिएन भने स्याटलाइट प्रविधिबाट घरधुरी गणना गरी त्यसका आधारमा पनि गणना गर्न सकिन्छ,’ उनले भने ‘यस क्षेत्रमा ७ सयदेखि ८ सयको हाराहारीमा जनसंख्या रहेको बुझिएको छ ।

विदेशस्थित कूटनीतिक नियोगमा पनि गणना गरिने

यसपटक विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुमा इ–सेन्ससविधि अपनाई वेवसाइट एप्लिकेशनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण संकलन गर्न लागिएको उनले जानकारी दिए ।

कति लाग्छ खर्च ?

विभागले १२ औं जनगणनको लागि ४ अर्ब खर्च हुने अनुमान गरेको छ । विशेष त जनगणनको लागि ५ वर्षको समयावधिमा यो खर्च हुने हो । जनगणना हुनुभन्दा अघिल्ला २ वर्ष, जनगणनाको वर्ष र गणनापछिको २ वर्ष गरी कुल ५ वर्ष लाग्ने भएको हो ।

४ अर्बमध्ये मुख्य गणनाको वर्ष अर्थात २०७८ मा मात्रै ३ अर्ब खर्च हुने विभागको हिसाव छ । जनगणनामा खटिएका गणक तथा सुपरीवेक्षकको लागिमात्रै १ अर्ब ६० करोड खर्च हुने महानिर्देशक श्रेष्ठले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स