काठमाडौं । कर्मचारी सञ्चय कोषले साउन १ गतेदेखि लागू हुनेगरी ब्याजदर परिवर्तन गरेको छ । कोषले आजबाट लागू हुने गरि सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको हो ।
कोषले सञ्चय कोष रकममा र निवृत्तभरण कोष रकमको ब्याजदर ५.५० प्रतिशत र विशेष सापटीको ब्याजदर ६.६० प्रतिशत कायम गरेको छ । कोषले धितोमा आधारित घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीको ब्याजदर घटाएर ७.५० प्रतिशत कायम गरेको छ । साथै जग्गा खरिद सापटी वा सरल सापटीका लागि ८ प्रतिशत ब्याज निर्धारण गरेको छ ।
कोषले विशेष सापटीबाहेकका धितोमा आधारित सापटीको नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा ०.२५ प्रतिशत विन्दुले छुट दिने निर्णय गरेको छ ।
काठमाडौं उपत्यका तथा सातै प्रदेशमा रहेका शाखा कार्यालय र सेवा केन्द्रमार्फत कोषले सञ्चयकर्तालाई सहुलियत दरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत सापटी र जग्गा खरिद सापटी प्रदान गरिरहेको छ ।
कोषबाट सञ्चयकर्ताको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्म रकम विशेष सापटीको रुपमा प्रदान भइरहेको छ । कोषले आफ्ना सञ्चयकर्तालाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि १ करोडसम्मको सापटी रकम प्रदान गर्ने गरेको छ ।
कोषका अनुसार सञ्चयकर्ता स्वयं वा पतिपत्नी वा छोराछोरीलाई उच्च शिक्षा अध्ययन गराउने प्रयोजनका लागि दिइने शैक्षिक सापटी तथा सञ्चयकर्ताको सेवा अवधिमा आइपर्ने भैपरी आउने कार्यका लागि दिइने सरल सापटीमा ४० लाखसम्म प्रदान गर्ने गरिएको छ । यस्तै, घर मर्मत गर्नका लागि ३० लाखसम्म प्रदान हुने गरेको छ ।
हाल कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र सङ्गठित क्षेत्र एवं सामुदायिक तथा संस्थागत विद्यालयतर्फका गरी ६ लाख ४५ हजार सञ्चयकर्ता तथा योगदानकर्ता आवद्ध रहेका छन् । कोषले एक सूचना जारी गर्दै अर्थिक वर्षको पहिलो दिन आज साउन १ गते कोषको बाह्य कारोबार बन्द हुने पनि जनाएको छ ।