काठमाडौं । कोशी प्रदेशमा आजसम्ममा कुल ६१.६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५.९ प्रतिशत रोपाइँ भएको थियो ।
मन्त्रालयले दिएको जानकारीअनुसार कोशी प्रदेशमा आठ लाख २६ हजार छ सय ४६ हेक्टर खेतीयोग्य जमिनमा दुई लाख ७६ हजार तीन सय ८६ दशमलव ७२ हेक्टर जग्गामा धानखेती हुने गरेको छ ।
मनसुनको सक्रियतासँगै अहिलेसम्म एक लाख ७० हजार चार सय ५०.४२ हेक्टर जग्गामा धान रोपाइँ भएको मन्त्रालयका अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रदेशको उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा ४४. २५ प्रतिशत, मध्यपहाडी क्षेत्र इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुरमा ५६.६६ प्रतिशत तथा तराईका सुनसरी, मोरङ र झापामा ६४. ८१ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए ।