संसद्मा गीतबाट सवाल–जवाफ, कसले कुन गीत गाए ?

काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरंगीत बनेको छ । उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ ।

एमालेले आफ्ना मन्त्रीहरुको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक फत्तेमानराज भण्डारीको एउटा गीतको हरफ एमालेका मन्त्रीहरुलाई सुनाएका थिए । ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा…!’ सोही प्रसंग उल्लेख गर्दै एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको आजको बैठकमा जवाफी गीत सुनाए ।

बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरुले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमानराज भण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको ‘तिमिले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरो बीचको नाता हुनुपर्ने के रह्यो र …!’ गीत सुनाए ।

प्रतिनिधिसभाको आइतबार र आज भएको बैठकमा सांसदहरुले गीतमार्फत विम्ब प्रहार गरिरहेका छन् । आइतबारको बैठकमा सांसद सुनील शर्माले गायक रामकृष्ण ढकालको गीत ‘छल गर्यो मायाले …!सबैको देख्छु हासो र खुसी शिखरको बाटोमा आफूत …! गाएका थिए । बैठकमा सांसदहरुले दलीय प्रतिनिधित्व गर्दै एक अर्कालाई सांगीतिक झटारो प्रहार गरिरहेका छन् ।

विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले गायिका कुन्ति मोक्तानको ‘कति जल्छौं आरिसले अझै जल्दै गर, मत हिँड्छु मेरै बाटो खुट्टा तान्दैगर’ सुनाए । उनले बैठकमा गीतको बिम्ब प्रस्तुत गरिएकाले आफूलाई पनि गीतको हरफ आएको भन्दै राजनीतिमा सरकार फेरबदल भइरहनु सामान्य कुरा भएको बताए । उनले यसलाई कुनै पनि राजनीतिक दलले अन्यथा लिन नहुने धारणा राखे ।

राष्ट्रिय सहमति गर्ने विषयलाई पार्टीले सदैव सकारात्मक रुपमा लिएको भन्दै संविधान निर्माणदेखि पछिल्ला सरकार गठनमा पनि सहकार्य र सहमति गर्दै अघि बढेको सांसद घर्तीले बताए । उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति गरेर अगाडि बढ्न सकिने धारणा राखे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स