काठमाडौं । जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा रामबहादुर बम्जनलाई १० वर्ष सजाय सुनाएको छ ।
सोमबार जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
यसअघि न्यायाधीश भण्डारीको इजलासले १० असारमा बम्जनलाई दोषी ठहर गरेको थियो र सजाय निर्धारणका लागि सोमबारका लागि पेशी तोकिएको थियो ।
निजविरुद्ध यौन सन्तुष्टी प्राप्त गर्ने तथा बालयौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो । विसं २०७१ साउनदेखि बाराको हलखोरियामा रामबहादुर बम्जनको आश्रममा आनीको रूपमा रहेकी २२ वर्षीया महिलाको जाहेरीका आधारमा सर्लाही जिल्ला अदालतबाट विसं २०७६ माघ २३ गते प्रहरीलाई पक्राउ अनुमति प्राप्त भएको थियो ।
प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहेको थियो ।
लामो समयको खोजतलासपछि काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ रहेको आफ्नै घरमा लुकिछिपी बस्दै आएका बम्जनलाई २०८० पुस २४ गते पक्राउ गरिएको थियो ।
सर्लाही अदालतले २०८० पुस २७ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।