काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा छन् । दुई हप्ता अघि उनको निर्देशनमा बीवाईडी गाडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रा.लि.मा छापा मार्यो ।
महानिर्देशक बुढा आफैंमा नरम स्वभावका । उनले सुरुमै कम्पनीको कागजात जफत गर्नु भन्दा पनि सोधपुछ गर्नु भन्ने निर्देशन दिएका थिए । सोहि अनुसार विभागका कर्मचारीहरुले केहि सोधपुछ गरि विभागमा आउन बीवाईडीका प्रतिनीधिलाई अनुरोध गरे ।
बीवाईडी गाडीको मोटर पिक पावर घटाएर आयात गरेको आरोप छ । जुन विषय भन्सार विभागले समेत अध्ययन अघि बढाएको छ । बीवाईडीको सबै विद्युतीय गाडी (ईभी) आयात हुन्छ ।
यो विषयमा राजस्व अनुसन्धान विभागका महानिर्देशक बुढा अघि बढ्दा भने उनको जागिर जाने निश्चित जस्तै बनेको छ ।
साइमेक्स इंकमा तीन जनाको लागानी रहेको छ । एक जना विदेशिको समेत नाम रहेको छ ।
अन्य ईभी गाडीको तुलनामा यसको प्रोडक्ट राम्रो भएको कारण नेपालमा बिक्री समेत बढिरहेको छ । गत वर्षदेखि राम्रो बजार पाईरहेको छ । बजार बढिरहँदा बजारीकरणको रणनीति समेत थप गरेको छ ।
बीवाईडीमा राजस्व अनुसन्धान विभागले अध्ययन अघि बढाउन साइमेक्स इंकले समस्या समाधानको लागि कसैलाई भनसुन गर्नुपरेन । उसले गरेको बजारीकरणको रणनीति आफैंले रक्षा गरिदिएको छ । र महानिर्देशक बुढाको जागिर नै धरापमा पारिदिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् अन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका छोटो समयमै उनी प्रधानमन्त्री कार्यालय तानिने भएका छन् । साइमेक्स इंकबाट नै कटुसको काँडा नांगो हातले समातेको महसुस गरेका बुढाले अन्य कम्पनीको अध्ययन अघि बढाएका छैनन् ।
बरु उनले सूचना संकलनको लागि प्रयोग गर्दै आएको सुराकीहरुलाई समेत निश्क्रिय पारेका छन् । उनले प्रयोग गरेको सुराकीलाई नै हतियार बनाएर उनलाई महानिर्देशकबाट हटाउन लागिएको हो ।
बुढासँगै भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाको सरुवा हुने समेत लगभग निश्चित देखिएको छ । ईभी गाडीमा राजस्व छलि भएको विषय सुरुवात उनीबाट भएको थियो । जुन विषय प्रमाणित गर्ने अन्तिम अवस्थामा पुगेका निरौलालाई महानिर्देशकको जिम्मेवारी खोसिन लागिएको हो ।
भन्सार विभागले कम किलोवाट देखाएर ईभी प्रवेश गराएको आशंका गरेको थियो । भित्रिएका विद्युतीय गाडीको पुनः परिक्षण गर्न भन्दै भन्सार कार्यालयहरुलाई समेत पत्राचार गरेको हो ।
विभागले सय किलोवाट भन्दा माथिका ईभी गाडीहरु ९९ किलोवाट लेखाएर भन्सार पास गरेको संकेत गरेको हो । भन्सार जाँचपासमा किलोवाट छलि मार्फत राजस्व चुहावट भएको निष्कर्ष निकाल्दै विभागले थप महसुल असुल गर्न र भविष्यमा जाँचपास गर्दा उच्च सर्तकता साथ जाँचपास गर्न मातहत सबै कार्यालयहरुलाई पत्राचार भएको थियो ।
किलोवाट अनुसारको कर लगाइएको छ, जस अनुसार आयातकर्ताहरुले कागजातमा किलोवाट घटाएको आंशका भएको छ । त्यसकारण पुनः परिक्षणको लागि पत्राचार भएको हो । विभागले भन्सारले अन्य कार्यालयलाई लेखेको पत्रमा विद्युतीय गाडी जाँचपास गर्दा मोटरको पिक पावर क्षमताका सम्बन्धमा उत्पादक कम्पनीको आधिकारिक वेवसाइटमा उल्लेखित मोटरको क्षमता र पिक पावर समेतका कागजातहरु अनिवार्य रुपमा जाँच गरी यकिन भई कारोबार मूल्य कायम गरी जाँचपास गर्न भनिएको थियो ।
जुन विषय प्राविधिक परिक्षणबाट पुष्टि हुने अन्तिम अवस्थामा रहेको छ । निरौला यस अघि महसुल छुट भएको भए सो समेत असुल गरी उच्च सतर्कताका साथ जाँचपास गर्न लागि परे ।
जुन विषयमा उनी भन्दा शक्तिशाली व्यापारीहरु देखिए । व्यापारीहरुले आफैं शक्तिको अभ्यास गरेनन् । आफ्नो बजारीकरणको लागि प्रयोग भैरहेको संयन्त्र प्रयोग गरेर निरौलालाई समेत हट्न बाध्य बनाएका छन् ।