काठमाडौं । पछिल्लो समय बैंकर अजय मिश्रको दिनचर्या फेरिएको छ । शान्त कोठामा बसेर व्यवस्थापनमा जुट्ने मिश्रको दैनिकी अहिले बिरामीको बेड बेडमा पुगेपछि सुरु हुन्छ ।
बिहान कार्यकक्षमा पुग्नु अघि र बेलुका घर फर्कनु अघि उनी हरेक दिन बिरामीलाई भेट्छन् । बिरामी हालचाल बुझ्छन् । हस्पिटलले उपलब्ध गराएको सेवाको बारेमा प्रतिक्रिया लिन्छन् । यो अहिलेको उनको दैनिकी हो ।
बैकिङ क्षेत्रले भन्दा स्वास्थ्य क्षेत्रले फरक अनुभव र गहन जिम्मेवारी बोध गराएको बताउने बैंकर मिश्र भन्छन्, ‘जीवनमरणको सवाल छ । रातदिन भन्न मिल्दैन । हस्पिटलको व्यवस्थापनमा जुट्नु भनेको २४ घण्टा ड्युटीमा खटिनु सरह नै हो । अलिकति तलमाथि भयो भने तनाव सिर्जना भइ हाल्छ । साह्रै सम्वेदनशील भएर व्यवस्थापकीय जिम्मेवारी निभाउनु पर्छ ।’
३ वर्षअघि बैंकिङ क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका मिश्र अहिले नर्भिक इन्टरनेशनल हस्पिटलको प्रमुख कार्यकारी अधिकृतको पदीय दायित्वमा छन् ।
१८ वर्ष बैंकिङ बैंकिङ क्षेत्रमा काम गरेर स्वास्थ्य क्षेत्र छिरेका उनी सरकारी कर्मचारी साथै मिडिया क्षेत्रमा पनि राम्रै जमेका थिए । समयले उनलाई एकै ठाउँमा बस्न दिएन । सम्पन्न र प्रतिष्ठित परिवारमा जन्मिएका मिश्र, एकै ठाउँमा बसेर जागिरे बनिरहनुभन्दा भिन्न भिन्न क्षेत्रमा काम गरेर आफूलाई हरेक क्षेत्रमा अब्बल बनाउन चाहन्छन् ।
राजा सुरेन्द्र वीर विक्रम शाहको पालामा मिश्रका सात पुस्ते हजुरबुबा सुब्बा दामोदर मिश्र कौशी तोशाखानाको प्रमुख थिए । उनले देशको ढुकुटी असाध्यै राम्रोसँग सम्हालेपछि राजाले खुशी भएर रौतहट र सर्लाहीमा बिर्ता दिए ।
त्यसपछि हजुरबुबाको पालासम्म मिश्रको परिवार ठाँटका साथ त्यहि बस्यो । ‘पाँच पुस्ताले सरकारी सेवा गरेनन्’, उनी भन्छन् ‘अलिकति राजनीति, अलिकति किसानीमा नै रमायो।’
मिश्रका बुवा रामानन्द सरकारी सेवामा प्रवेश गरे। उनले करिब ६५ वर्ष नेपाल सरकार र काठमाडौं विश्वविद्यालयमा सेवा गरे। त्यसयता मिश्र परिवारका सबै सदस्य सरकारी सेवामा छन् ।
उनी, मिश्र परिवारका एक्ला सदस्य हुन् जसले बैंकिङ क्षेत्रलाई आफ्नो कर्मथलो बनाए । आफ्नो पृष्ठभूमीभन्दा फरक क्षेत्रमा प्रवेश गरेर यसमै पहिचान बनाए ।
काठमाडौंको ढोका टोलमा जन्मिएका सुब्बा दामोदरको सातौ पुस्ता अजय मिश्रको परिवार पुनः काठमाडौं फर्कियो । जागिरे जीवन सुरु गर्दै गर्दा सरकारी सेवालाई नै रोजे पनि त्यो भन्दा फरक क्षेत्रमा उनको कुशल व्यवस्थापकको पहिचान बन्यो । यसैमा उनी खुशी छन् । २०४७ सालमा प्राविधिक शिक्षा तथा तालिम व्यवसायिक परिषदमा लेखा अधिकृतबाट उनले सरकरी जागिर सुरु गरेका हुन् ।
मिश्र कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाएका स्पष्ट वक्ता हुन् । उनलाई धेरैले कुशल विश्लेषक तथा बैंक तथा वित्तीय संस्थाहरूको मर्जर विज्ञ समेत भन्ने गर्छन् । उनकै नेतृत्वमा ६ वटा मर्जर तथा एक्युजिशन प्रक्रिया सम्पन्न भएको छ ।
नर्भिक आउनु अघि उनी युनाइटेड फाइनान्समा सीईओको रुपमा कार्यरत थिए । युनाइटेड फाइनान्स नबिलसँग मर्जरमा गएपछि उनी नबिलमा जान चाहेनन् । एक प्रकारले सोच्ने हो भने युनाइटेडको यात्रासँगै उनको बैंकिङ क्षेत्रको यात्रा पनि टुंगिएको छ । अब उनी यो क्षेत्रमा फर्कन चाहँदैनन् । नयाँ क्षेत्रमा काम गरेर नयाँ अनुभवका साथ खुट्किला उक्लन चाहन्छन् ।
मिश्रसँग ‘ग’ देखि ‘क’ वर्गसम्मको बैंक वित्तीय संस्थामा काम गरेको अनुभव छ । सम्भवत बैंकिङ उद्योगमा सबै वर्गमा काम गर्ने मिश्र नै पहिलो व्यक्ति पनि हुन्, जसले संस्थालाई बलियो बनाउन आफ्नो भएभरको एफोर्ट लगाए ।
मिश्रसँग माछापुच्छ्रे बैंक, प्रूडेन्सियल फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंक लगायतका आधा दर्जन वित्तीय संस्थामा काम गरेको अनुभव छ । उनी भन्छन्, ‘म सायद माछापुच्छ्रेमा नगएका भए अन्य कुनै क्षेत्रमा रमाइरहेका हुन्थे ।’
उनका अनुसार बैंकिङ क्षेत्रको स्वाद उनलाई माछापुच्छ्रे नै चखाएको हो । त्यो भन्दा अघि उनले नेपाल सरकार, यूएनडपी, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजन लगायतमा संस्थामा काम गरेका थिए ।
मिश्रले काठमाडौं युनिभर्सिटीबाट बिजिनेश एडमिनिस्ट्रेसनमा एमफिल(प्राचार्य) सम्मको अध्ययन पूरा गरेका छन् । मिश्र भन्छन्, ‘मैले जीवनमा धेरै क्षेत्रमा भिजेर काम गरे, पदभन्दा ठूलो जिम्मेवारी लिएर पनि काम गरे । जसले मलाई आजसम्म पनि उत्तिकै सम्मान र काम गर्न उत्साह थपेको छ । मेरो जीवनका धेरै पाटामध्ये नेपाल टेलिभिजनमा गरेको काम र पाएको जिम्मेवारीमा अझ सन्तुष्ट छु ।’
त्यहाँ पाएका जिम्मेवारी र मान सम्मान मेरो मानसपट्टलमा अझै ताजै छ । मान्छेलाई त्यहि चीज चाहिँदो रहेछ । त्यो क्षणले मलाई अझै काम गर्न उत्प्रेरित गरिरहेको छ । ‘मैले जिम्मेवारी लिएका प्राय सबै संस्थाले राम्रो प्रफमेन्स देखाउन सकेका थिएनन् ,’ उनले भने ‘सबैलाई सवल र बलियो बनाएर छाडेको छु । मर्जर र एक्युजिशनमा मैले राम्रो गरे ।’
नेतृत्व लिएको संस्था अरुसँग मर्जरमा जाँदाको क्रममा पनि उनले धर्म छाडेनन्, आफूलाई गौणमा राखेर सधै कर्मचारीको हक अधिकारमा लडे ।
‘र त नि आज पनि वर्षौ पहिला काम गरेका साथीहरूले सम्झन्छन्’, दुःख सुखको चौतारी जस्तो ठान्छन् उनलाई । कसैले काम गर्दाको क्षण स्मरण गर्छन् त कसैले इतिहासका पाना पल्टाएर आफूले भित्र्याएको कल्चरलाई साक्षी राख्छन् । उनीहरूसँग भेट्दा उनलाई पनि महँगो भारी बिसाएको जस्तो महशुस गर्छन् ।
उनी भन्छन्, ‘कुनै पनि काम आफूलाई सन्तुष्ट हुने जेलसम्म गर्ने हो । त्यतिबेलासम्म उत्कृष्ट प्रयासका साथ कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने मान्यता छ म मा ।’
आफू कार्यरत संस्थालाई केहि योगदान दिन सकिन्छ भने मात्र पदमा बस्नुपर्छ भन्ने स्पष्ट सोच छ उनमा । मर्जर तथा प्राप्तिको शृंखला जारी रहँदा बैंकको नेतृत्त्वमाथि कर्मचारीलाई सहि न्याय नदिएको आरोप लाग्ने गरेको छ । तर, उनले सधै कर्मचारीको हितमै काम गरिरहे ।
उनलाई लामो समयसम्म कुनै पनि काम निरन्तर गरिरहन मन पर्दैन । परिमाणको ग्राफ बढ्छ भने देखिएमा मन र मतिष्कलाई भिडाएर काम गर्छन्, नत्र छाडिदिन्छन् , काम नगर्दा पनि उनलाई कुनै अप्ठ्यारो पर्दैन । स्वदेश तथा विदेशमै पनि उनी आनन्दले रवाफका साथ बस्न सक्छन् ।
वर्षमा एकदुई पटक छोराछोरी कहाँ पुग्छन् । आफूलाई चाहिने वस्तु तथा सामान उतैबाट ल्याउँछन् । मेरो यी सबै शीरदेखि पाउसम्म उतैका वस्तुले भरिएको छ’, उनले आफूले लगाएको सर्ट देखाउँदै भने ‘सबैका छोराछोरी बाहिर छन्, भाडा सफा गर्नेदेखि अन्य सरसफाईका सामान समेत नेपालको चल्दैन ।
अर्थतन्त्र चलायमान बनाउने, खपत बढाउने ठूलो जमात बाहिरहँदा वस्तु उपभोग नै भएन । आफ्नो उत्पादन त यसै पनि पर्याप्त छैन, आयात गरिएका वस्तु समेत खपत हुन छाडेको धेरै भइसक्यो । खपत नभएपछि उत्पादन हुने भएन । उत्पादन नभएपछि रोजगारी पनि सिर्जना हुँदैन, अनि कसरी हुन्छ अर्थतन्त्र चलायमान ? यो उनको प्रश्न हो ।
उनी भन्छन्, ‘आर्थिक मन्दीको असर हस्पिटल क्षेत्रमा पनि परेको छ । आर्थिक गतिविधि सुस्त हुँदा नियमित स्वास्थ्य चेकजाँच गर्ने सेवाग्राही घटेका छन् । मन्दीका कारण यो क्षेत्रको व्यवसायमा २० प्रतिशतले गिरावट आएको छ ।’