काठमाडौं । शशीला मोटर्सले भेन्च ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ ।
एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले जनाएको छ।
२५ फिट लम्बाइको बसमा पूर्ण रुपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध छ । फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा सञ्चालन गर्न यो बस यात्रु मैत्री हुने शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताए ।
१ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दाबी छ । उनले बस आइपुग्नुअघि नै आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मतको व्यवस्था मिलाइने बताए ।
दसैंलाई लक्षित गरि ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ । विगत १० वर्षदेखि व्यावसायिक गाडीहरू बिक्री गर्दै आएको शशिला मोटर्स पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता हो।
भान्चे ब्राण्ड स्प्रिन्टर डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी हो।