मन्त्रीज्यू, औषधी खाइस्यो त भनेर सोध्ने मुख्यसचिवलाई किन पर्यो बज्रपात ?

काठमाडौं । बैकुण्ठ अर्याल अर्थ मन्त्रालय रहँदा कर्मचारी कै ‘आइडल’ । सहसचिवको रुपमा करिब ७ वर्ष अर्थ मन्त्रालयमा बिताए । अर्थ मन्त्रालयमा आर्थिक मामिला तथा नीति विश्लेषण महाशाखा, बजेट तथा कार्यक्रम महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुखको रुपमा रहे ।

उनी अर्थ मन्त्रालयमा रहँदा त्यहाँ कर्मचारीहरुले भन्थे यस्तो व्यक्तित्व सबैले बनाउनु पर्छ । कुनै विषय सोध्दा वा कुनै फाइल उनीकहाँ लैजाँदा त्यसबारे पूर्ण जनाकारी राखेरै जानु पर्ने, नत्र उनले हेरेको त्यो कर्के नजर नै कर्मचारीलाई झापड सरह हुने ।

अर्थ मन्त्रालयमा त्यस समय धेरै कर्मचारी राजस्व समूह तर्फबाट नै हुन्थे । उनीहरुलाई अर्थको ‘क्याडर’ रुपमा हेरिन्थ्यो । तर पनि बैकुण्ठ अर्याल भनेपछि सबैले एक पटक सोचेर मात्रै उनको कोठामा पस्थे ।

उनी ९ बजेट कार्यालय आइसक्थे भने कार्यालयको समय सकिएपछि पनि कम्तिमा १ घण्टा अतिरिक्त खर्चिन्थे । व्यक्तिगत काम उनीसँग पर्यो भने उनले दिने समय त्यहि नै हो । जुन कार्यालय भन्दा बाहिरको समय । महाशाखा प्रमुख भन्न त बैकुण्ठ अर्याललाई मात्रै सुहाउँछ त्यस समयमा कर्मचारीहरुको त्यहि भनाई हुन्थ्यो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको गठनसँगै उनलाई निमित्त सचिवको जिम्मेवारी सहित त्यहाँ पठाइयो । उनी सचिवमा बढुवा भए । उक्त आयोगको उनी पहिलो सचिव समेत हुन् । वित्तिय संघीयता कार्यान्वयनमा लान उनको योगदान समेत रह्यो ।

त्यसपछि उनी आए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय । जुन समयमा कोभिड समेत सुरु भयो । मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिव थिए ।

त्यसमा उनीले वस्तु अभाव हुन नदिएको विषय केहि चर्चा समेत भयो । केराउ, मरिच सुपारी र छोकडालाई उनले कोटा प्रणालीमा लगे । परिमाणात्मक बन्देज गर्दा भने विरोधमा समेत आए । त्यसमा उनले स्वच्छ रुपले कोटा नबाँडेको आरोप पाए ।

मन्त्री थिए, लेखराज भट्ट । त्यससमयमा नेकपाको ठूलो झगडा थियो । एमाले पंक्ति र माओवादी पंक्तिको झगडा त छदै थियो । माधव नेपाल धार पनि त्यहि झगडाबाट नयाँ पार्टी निर्माण सम्म पुग्यो ।

लेखराज भट्ट माओवादी भएपनि त्यो झगडामा एमालेतिर लागे । प्रधानमन्त्री थिए केपी शर्मा ओली । माओवादी एमाले तिर आएपछि ओलीले उनलाई निकै काखी च्यापे । परिमाणात्मक बन्देज लगाउँदा बैकुण्ठ अर्याल र लेखराज भट्टले पहिले कोटा बाँडेर पछि आवेदन खोल्दा पनि प्रधानमन्त्रीले निगरानी राखेनन् ।

त्यस समयमा देखिन्थ्यो, लेखराज भट्ट र बैकुण्ठ अर्याल मन्त्री र सचिव होइनन्, उनीहरु आफ्नै दाजुभाइ हुन् । अर्याल दाजुको सेवा गरेझै भट्टलाई सोध्थे कि मन्त्री ज्यू औषधी खाइस्यो ? हजुरको खाना खाने टाइम भो है, सचिव नै सम्झाउथे ।

भट्टको स्वकिय सचिव थिए हितेश ओझा उनलाई पनि मन्त्री ज्यूको स्वास्थ्यमा ख्याल राख्न अर्याल नै अह्राउथे । सहसचिव हुँदा उनले देखाएको व्यवसायिकता सचिव भएपछि चकडीमा बितिरहेको थियो । त्यसपछि उनी सूचना तथा संचार प्रविधि मन्त्रालय आए । त्यसपछि उनको काण्ड नै काण्ड देखिए ।

गोकुल बास्कोटा, ज्ञानेन्द्रबहादुर कार्की लगायतसँग लामो समय संचार मन्त्रालयमा बिताए । संचार सचिव नेपाल टेलिकमको बोर्ड अध्यक्ष रहन्छ । सहसचिव हुँदा नै उनी टेलिकमको बोर्डमा रहिसकेका उनले संचार मन्त्रीलाई पनि औषधी र खाना सोध्दा सोध्दै धेरै नीतिहरु संशोधन गरेको देखिएको छ ।

सुनील पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउन योग्यताको मापदण्ड नै संशोधन भयो । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा विकल पौडेल नियुक्ती दिन मापदण्ड संशोधन भयो । अन्त:शुल्क स्टीकर छपाईमा बद्नीयतमा अघि बढाइयो ।

त्यस्तै गरि टेरामक्स प्रविधिका उपकरण खरिदमा ठूलो रकम भ्रष्टाचार नै भएको आरोप छ ।

अर्थ मन्त्रालय र वित्त आयोगमा रहँदा सबैका आइडल भएका उनी संचार मन्त्रालयसम्म पुग्दा सिंहदरबारमै नमस्कार गर्ने कर्मचारी घटिसकेका थिए । त्यसपछि उनी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगे ।

प्रधानमन्त्री कार्यालयबाट उनले मुख्य सचिवको पद पाएको देख्दा त उनी चलखेलको राम्रो खेलाडीको उपमा नै पाए ।

गत वर्ष करिब यहि समयको कुरा हो । अझ भनौ जेठ अन्तिमको समय थियो । एक्कासी अर्याल मुख्य सचिव बनेको सूचना आयो ।

त्यस समय मुख्य सचिव रहेको शंकरदास बैरागीको समय असोज १४ गतेसम्म थियो । जेठ अन्तिम दिन मुख्य सचिवको जिम्मेवारी अर्याललाई प्रदान भयो । असार २ गते अर्याल अवकास पाउँदै थिए । तर बैरागीलाई नयाँ पद सिर्जना गरेर उनी मुख्य सचिव बने । राष्ट्रिय सुरक्षापरिषद्को सल्लाहाकारमा बैरागीको नियुक्ती समेत नयाँ पद थियो ।

यति सम्म गर्न अर्यालले प्रधानमन्त्री प्रचण्डसँग कति हातेमालो गरे होलान् । प्रधानमन्त्रीलाई कन्भिन्स गर्न कति समय खर्चिए होला् । चाकडीको निकै लामो डोरी बाटेर मुख्य सचिव बनेका अर्यालाई बज्रपात नै परेको छ ।

उनलाई अन्त:शुल्क स्टीकर छपाईमा प्रपञ्च गरेको भन्दै अख्तियार दुरुपयोग अनुन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ । योसँगै उनी निलम्बित भैसकेका छन् ।

थप मुद्दा बुझाउने तयारी समेत गरेको छ । यसरी घटनाक्रम अघि बढ्नुमा पछिल्लो समय अर्याल गलत बाटोमै हिडेको देखिएको उनका एक सहकर्मी बताउँछन् । उनी भन्छन्, ‘अर्याल मन्त्रीले भनेको विषयमा हस हजुर मात्रै भन्ने मान्छे हुन्, त्यसले पनि उनलाई अप्ठ्यारो पर्यो । आफूभन्दा तलको कर्मचारीमा स्पष्ट छाप बनाए पनि मन्त्रीहरुसँग भने उनले नाई भन्न सकेनन् ।’

त्यसका साथै सहसचिवसम्म रहँदा आर्थिक लाभ नलिएकोले पनि सचिव र मुख्य सचिव भएपछि भने मेसोमा परेकोलाई नछोडेको हुनसक्ने ती अधिकारीको भनाई छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स