…र बोर्ड अध्यक्षमा अन्तरवार्ता नदिई सिंहदरबार गेट बाहिरै बसे तीन जना !

काठमाडौं । संस्थानको कार्यकारी पदमा नियुक्ति प्रक्रिया अघि बढाउँदा चलखेल हुन्छ भन्ने धेरैले सुनेको विषय हो । सरुवा र नियुक्ति गर्दा सेटिङमै हुने गरेको विषय हरेक चिया पसलमा हुने गफ हुन् । अब रे रे मै सीमित भएन ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रियाले चाहिँ नेपालमा हुने नियुक्तिहरु कसरी हुन्छन् भन्ने कुरालाई पारदर्शी बनायो । आवेदन माग गर्ने र कसलाई नियुक्त गर्ने भन्ने टुंगो अगाडि नै लगाउने ।

जुन विषय अहिले आम सर्वसाधारणमा छर्लङ्ग भएको छ ।

धितोपत्र बोर्ड पुँजी बजारको नियम गर्ने निकाय हो । यसले करिव ३२ खर्ब हाराहारी आकारको पुँजीबजारलाई नियमन गर्छ ।

पुँजीबजारमा सरोकार रहेका एउटा स्टक एक्स्चेन्ज, एउटा सीडीएस एन्ड क्लियरिङ लिमिटेड, तीनवटा क्रेडिट रेटिङ, २९ वटा मर्चेन्ट बैंकर्स, १६ वटा फण्ड म्यानेजर र ८४ वटा ब्रोकर कम्पनीलगायत ३ सय १८ वटा बजारसम्बद्ध निकायहरु छन् ।

अहिले २ सय ४६ वटा सूचीकृत कम्पनीहरुको सेयर कारोबार हुँदै आएको छ भने साढे ६२ लाख लगानीकर्ता समेत यसमा जोडिएका छन् । यसको नियमन गर्ने निकाय आफैमा शक्तिशाली रहेको छ । गत मंसिरदेखि यो निकाय नेतृत्व विहिन रहेको छ । मंसिरदेखि अध्यक्ष रिक्त रहेकोमा फागुन १६ गते आवेदन खुलाइयो ।

छनोट समितिमा योजना आयोगका उपाध्यक्ष, अर्थसचिव , विज्ञको रुपमा उदय निरौलालाई राखिएको छ । अर्थ मन्त्रालयबाट अर्थ सचिव मधुकुमार मरासिनी पनि उक्त समितिमा छन् । यस समितिले आवेदन दिने १९ जना मध्ये ५ जनाको नाम चैत २५ गते तय गर्यो । अहिलेसम्म अध्यक्ष नियुक्ति हुन सकिरहेको छैन , त्यसपछि पनि घटनाक्रमहरू यसरी अघि बढ्यो कि जसमा सर्वसाधारणले नियुक्ति कसरी अघि बढिरहेको छ भन्ने जानकारी पाउन मद्दत मिल्यो ।

संक्षिप्त सूचीमा छनोट भएका ५ जना कृष्णबहादुर कार्की, डा.नवराज अधिकारी, चिरञ्जीवी चापागाई, मुक्ति श्रेष्ठ, सन्तोषनारायण श्रेष्ठ मध्ये २ जना मात्रै आन्तरवार्ता र धितोपत्र बोर्डको नेतृत्वमा रहेर कसरी काम गर्ने भनेर आफ्नो प्रस्तुती दिए ।

श्रेष्ठद्वयले निर्धारित मिति असार २ गते योजना आयोगमा गएर प्रस्तुतीकरण गरे । भने बाँकी तीन जना २ गते उपस्थित भएनन् । समितिले अर्को मिति तय गर्यो । जुन मिति आज बुधबारलाई तय भएको थियो । ३ जनालाई बिहान ९ बजे बोलाएर छनोट समितिका सदस्यहरु १२ बजे सम्म पर्खिए । तर तीनै जना सिंहदरबार छिरेनन् ।

जसकारण समितिले ३ जनाको नाम सिफारिस गर्न सकेन । महान्यायाधिवक्ताको राय लिन पुगेको छ । सिफारिस हुन पर्ने ३ जना अन्तरवार्ता दिने २ जना मात्रै अन्योलमा पर्यो समिति जसकारण राय नै लिनपर्ने अवस्था सिर्जना भएको छ ।

नेपाल धितोपत्र बोर्ड सम्बन्धि ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धि व्यवस्था गरेको छ । जसमा सुरुमै आवेदन माग गर्दा ३ जना भन्दा कमको आवेदन गरेको खण्डमा पुनः आवेदन गर्ने विषय उल्लेख गरिएको छ । यहाँ त आवेदन माग गर्दा १९ जना प्रतिस्पर्धा गर्न आएका थिए ।

नियुक्तिको लागि मन्त्रीपरिषद्मा ३ जना सिफारिस हुनुपर्छ भन्ने व्यवस्थाको साथ ३ जनाको अनिवार्य आवदेन चाहेको ऐनको आशय छ । जुन आवश्यक अनुसार अहिलेको प्रक्रिया अघि नबढोस् भन्ने चाहना अनुरुप ३ जना उपस्थित नभएको देखिन्छ ।

उनीहरुले बीना जानकारी नभई स्वास्थ्यमा समस्या रहेको जनाउ दिँदै अन्तरवार्तामा उपस्थित भएनन् । प्रक्रिया किन अघि नबढोस् भन्ने चाहन्छन् ? बोर्ड अध्यक्ष सन्तोष नाराणय श्रेष्ठलाई नै बनाउने गरि प्रक्रिया अघि बढाइएको छ । अहिले नै श्रेष्ठलाई निधो गरेर प्रक्रिया अघि बढाइएकोले साक्षीको लागि मात्रै उनीहरु सहभागी हुन नचाहेको देखिन्छ । श्रेष्ठलाई अध्यक्ष निधो गर्नुको पछाडि भने स्वार्थ समूहको बलियो हात देखिन्छ ।

बोर्डको अध्यक्ष चाहने तीन ग्रुप छन् । बोर्डबाट नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकियामा छ । तीन समूह लाइसेन्स चाहन्छन् । त्यसमा हिमालयन स्टक एक्सचेन्जको आवेदनकर्ताहरु प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर श्रेष्ठलाई अध्यक्ष बनाउन चाहन्छन् ।

जुन विषय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई निकै ठूलो दवाव आयो । ओलीले अहिले सरकारमा नियुक्तिको विषयमा निकै ठूलो दवाव दिने गरेका छन् । महालेखा परिक्षक सिफारिसमा चर्को दवाव नै दिए । उनले चाहे जस्तो नै प्रधानमन्त्रीले गरिदिए । राजदूतहरु फिर्ता बोलाउन समेत दवाव सिर्जना गरे । ओलीको कुरा प्रधानमन्त्रीले खुरुक्क माने । राष्ट्रिय वाणिज्य बैंकमा भने ओली चाहेका व्यक्ति भएनन् ।

त्यसपछि धितोपत्र बोर्डमा पनि त्यस्तै हुन्छ भनेर अहिले बजेट फेल गराउने चेतावनी दिएका छन् । पर्सी ७ गते बजेट पास गराउने कुरा छ , तर त्यहि मितिलाई लिएर ओली प्रधानमन्त्री र अर्थमन्त्रीसँग बार्गेनिङ गरिरहेका छन् । ७ गते सम्म सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति गर्नुपर्यो अन्यथा बजेट पास गर्न सहयोग नहुने चेतावनी दिएका छन् ।

जुन विषय अर्थमन्त्रीको असफलतासँग समेत जोडिन्छ । यसलाई लिएर मंगलबार अर्थमन्त्री वर्षमान पुन ओली निवास बालकोट समेत पुगे । ओलीले सोहि कुरा दोहोर्याए कि, छिट्टै नियुक्ति प्रक्रिया टुङ्याउनुस् ।

अर्थमन्त्री फर्किएर २ गते अन्तरवार्तामा नजाने तीनै जनालाई सम्पर्क गरे । अन्तरवार्तामा सहभागी हुन अनुरोध गरे । तीनै जनाको उत्तर थियो, श्रेष्ठ पक्का भैसकको ठाउँमा अब किन प्रतिस्पर्धा गरिरहनु । अहिले अर्थमन्त्री र प्रधानमन्त्री समेत श्रेष्ठलाई बनाउन राजी छन् । तर, प्रक्रिया पुर्याउन अप्ठ्यारो परिहेको छ ।

नयाँ लाइसेन्सको लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जका नाममा ३ आवेदन परेको छ । हिमालयन स्टक एक्सचेन्जको आवेदनकर्ताले ओली मार्फत सबैभन्दा ठूलो चलखेल गरिरहेका छन् । हिमालयन स्टक एक्सचेञ्जको मुख्य लगानीकर्ताहरूमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट प्रमुख सेयरधनी छन् ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख सतीश मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मित्सुबिसी कम्पनीको आधिकारिक बिक्रेता आशिष श्रेष्ठ, शिवम् सिमेन्टका सञ्चालक तथा साओमी मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाल, विवेक दुगड र राजेन्द्र खेतानले हिमालयन स्टक एक्सचेञ्जमा लगानी गरेका छन् ।

आवेदन दिने नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशी, रविजंग लामिछाने, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुप र आईएमई ग्रुपको समेत लगानी रहेको आवेदनमा उल्लेख छ ।

त्यसैगरी अर्को कम्पनी अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती छन् । अन्नपूर्ण एक्सचेन्जका लगानीकर्ता बलियो छैन । उनीहरुमा नै विश्वास देखिदैन ।

तर, नेशनल एक्सचेन्ज र हिमालयन एक्सचेन्ज बलियो प्रतिस्पर्धामा रहेका छन् । जसमा हिमालयनका लगानीकर्ताले आफ्नो स्टक एकसचेन्ज लिने योजना रहेको कारण ओलीले भनेको व्यक्ति नै हुनुपर्नेगरि चलखेल गरिरहेको छ । जुन विषय सतहमै गयो । बाहिरै छर्लङ्गैभएको विषयमा साथ नदिन तीन जना आज पनि सहभागी नभएको बुझिएको हो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स