वागमती प्रदेशसभा बैठकः प्रदेश आर्थिक सर्वेक्षण २०८०/८१ पेस

काठमाडौं । वागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले वाग्मती प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८०/८१ पेस गरे ।

आर्थिक सर्वेक्षण पेश गर्दै उनले वागमती प्रदेशको राजस्व संकलन, कृषि उत्पादन, पर्यटन क्षेत्रको विकास, शैक्षिक कार्यक्रमअन्तर्गत प्रदेशमा साक्षरता प्रतिशत वृद्धि भएको बताए ।

यातायात क्षेत्रमा सडक, पुल निर्माण, विद्युत् विस्तार, औद्योगिक उत्पादनहरु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गराइ विदेशी मुद्रा आर्जन गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिए ।

सोही बैठकमा श्रीराम लामिछाने, छिरिङ दोर्जे लामा, भारतीकुमारी पाठक, आनन्दकुमार श्रेष्ठलाई संसद् कार्य परामर्श व्यवस्थाको समितिमा मनोनयन गरिएको र उक्त बैठकले सो नामावलीलाई स्वीकृत प्रदान गरेको थियो ।

बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, अर्थ, विकास समितिका सभापति नुरज बज्राचार्य, सार्वजनिक समितिका सभापति श्रीराम लामिछाने, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकाल रहेका छन् ।

उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले छुट्टाछुट्टै वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौँडा अस्पताललाई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न मन्त्रिपरिषद्बाट गरेको निर्णयबारे स्पष्ट पार्न विशेष समय लिई बोल्नु बताए ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा अस्पतालकोे स्वायत्ततालाई कुनै आँच नपुग्ने गरी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आन्तरिक व्यवस्थापनका लागि जिम्मा दिइएको स्पष्ट पारे ।

हेटौँडा अस्पताल संघीय सरकारको निर्देशनबमोजिम प्रदेश सरकारको मातहतमा रहने गरी प्रादेशिक अस्पतालका रुपमा स्तान्तरण गरिएको उनले बताए ।

प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेशसभाको बैठक भोलि अपराह्न ४ बजे बस्ने गरी स्थगित गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स