‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट संघ (क्यान) भित्र अनियमितता भएको दाबी गर्दै त्यसको छानबिन गर्न माग गरिएको छ ।

बैठकको आकस्मिक समयमा नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्तरुपमा भइरहेको आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगीतामा क्यानले सन्दिप लामिछानेलाई १५ सदस्यीय टोलीमा समावेश नगरेको, राम्रो खेलाडीलाई हटाएर टोलीलाई हराउन लागेको र अमेरिकामा उठाएको चन्दा क्यानले आफ्नो खातामा नराखी दुरुपयोग गरेको विषय बाहिर आएको उल्लेख गरे ।

सांसद आचार्यले ब्याट र नेपालको जर्सीमा रकम हिनामिना भएको, नेपालीले प्राप्त गरेको चार सय टिकट र २० ‘भिआइपी पास’ पनि अवैध रुपमा बिक्री गरेकोलगायत विषयमा गुनासो आएकाले यस विषयमा सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गरे ।

सांसद गणेश पराजुलीले विद्युत् प्रसारणका कारण कर्णालीवासीले सास्ती खेप्नु परेकाले उद्योग, व्यवसाय सञ्चालन गर्न अवरोध सिर्जना भएको तथा गर्मीमा पङ्खासमेत नचल्ने अवस्थाका कारण दैनिकी कष्टकर भएको बताए । उनले कर्णालीवासीलाई अन्धकारबाट मुक्त गर्न यथाशीघ्र पर्याप्त विद्युत् प्रसारण गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स