मधेस प्रदेशमा जनमतका सिंहद्वारा मुख्यमन्त्रीमा दाबी पेस

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न जनमत पार्टीका सतिशकुमार सिंहले दाबी पेस गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा उनले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष दाबी पेस गरेका हुन् ।

नेता सिंहसँगै एमाले संसदीय दलका नेता सरोज यादव, माओवादी केन्द्रका संसदीय दलका भरतप्रसाद साह, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव र एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने उपस्थित थिए ।

यसअघि जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भए पनि जनमतले सिंहलाई अगाडि सारेको हो । मधेसमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका नौ, एकीकृत समाजवादीका सात र नागरिक उन्मुक्ति पार्टीका एक गरी ५४ जना प्रदेशसभा सदस्यको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत नपाएपछि प्रदेशप्रमुखले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स