तीन महिनामा बैंकहरूको ब्याज आम्दानीमात्रै ३६ अर्ब ३३ करोड (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोजसम्म वाणिज्य बैंकहरूले ३६ अर्ब ३३ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको यस्तो आम्दानी ३२ अर्ब १४ करोड ६६ लाख थियो । समीक्षा अवधिमा बैंकहरूको खुद ब्याज आम्दानी औसतमा १३ प्रतिशतले वृद्धि भएको छ । २०७८ को असार अन्त्यमा २७ वटा वाणिज्य बैंकको खुद ब्याज आम्दानी १ खर्ब ३१ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा ७ वटा वाणिज्य बैंकले खुद ब्याज आम्दानी घटाएका छन् भने १८ वटा बैंकले यस्तो आम्दानी बढाएका छन् । खुद ब्याज आम्दानी घटाउने बैंकहरूमा ग्लोबल आईएमई बैंक, प्राइम कमर्शियल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेनट बैंक, सनराइज बैंक, नेपाल बंगलादेश बैंक र प्रभु बैंक रहेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैसमासमा २७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै ब्याज आम्दानी गर्नेमा एनआईसी एशिया बैंक रहेको छ भने सेन्चुरी कमर्शियल बैंकले सबैभन्दा कम ब्याज आम्दानी गरेको छ । सेन्चुरी बैंकले ६७ करोड १७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको हो ।

यी बैंकको खुद ब्याज आम्दानी घटे पनि खुद नाफा भने यी बैंकमध्ये चार वटा बैंककोमात्र नाफा घटेको छ । खुद ब्याज आम्दानी घट्दा खुद ब्याजमा समेत असर परेका बैंकहरूमा प्रभु, प्राइम, नेपाल बंगलादेश बैंक र कुमारी बैंक रहेका छन् ।

सबैभन्दा बढी ब्याज आम्दानी गर्न सफल भएको एनआईसी एशिया बैंकले २ अर्ब ७८ करोड २४ लाख ब्याज आम्दानी गरेको छ । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९८ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ९ अर्ब २२ करोड ७५ लाख ब्याज आम्दानी गरेको थियो ।

बढी ब्याज आम्दानी गर्ने दोस्रो बैंकको रुपमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ८७ करोड ८० लाख रुपैयाँ रहेको थियो भने गत आर्थिक वर्षमा ८ अर्ब २४ करोड ३९ लाख रहेको थियो ।

बढी ब्याज आम्दानी गर्ने बैंकको तेस्रो स्थानमा ग्लोबल आईएमई बैंक परेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैसमासमा २ अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ग्लोबल आईएमई बैंकले गएको आर्थिक वर्षको पहिलो त्रैमासमा ९ अर्ब ब्याज आम्दानी गरेको थियो भने समीक्षा अवधिमा २ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा नबिल बैंकले पनि २ अर्ब २४ करोड १५ लाख रुपैयाँ खुद ब्याद आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ५७ करोड ४० लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको अन्त्यमा बैंकले ७ अर्ब ७२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सबैभन्दा कम ब्याज आम्दानी गर्ने बैंकहरूको सूचीमा सेन्चुरी पछि नेपाल बंगलादेश बैंक परेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६७ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सिभिल बैंकको यस्तो आम्दानी ७१ करोड १० लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स