काठमाडौं । बीमा कम्पनीहरुले सुरक्षा बपतको रकम प्रदान गर्नु पर्ने हो । तर विदेशी लगानीको बीमा कम्पनीले आफूसँग प्रत्यक्ष जोडिएकालाई असुरक्षित महसुस गराएको छ ।
लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआईसी) को निकै ठूलो घटना बाहिर आएको छ । बीमा कम्पनीहरुले भुक्तानी ढिला गर्ने गरेको विषय समान्य नै हो । तर यस कम्पनीले भने आफ्नो अभिकर्तादेखि बीमित समेतलाई ठगी गरेको भन्दै उजुरी परेको छ ।
यस विषयलाई लिएर अहिले धेरै नियामक निकायमा उजुरी समेत परिरहेको छ । विशेष गरि एलआईसी नेपालको मधेश प्रदेशमा ठूलो ठगी भएको विषय प्रमाण सहित हाम्रोअर्थ टिमसमक्ष आएको छ ।
हाम्रोअर्थ समक्ष घटनाका धेरै चरणका कागजातहरु आएका छन् । आएका कागजातहरुबाट मुख्यतय तीन विषय निगरानी हुनुपर्ने देखिएको छ । बीमा क्षेत्रको प्रमुख नियामक निकाय नेपाल बीमा प्राधिकरण हो । यसबारेमा केहि अघि नै जानकारी पाए पनि मौन अवस्थामा प्राधिकरण देखिएको छ । अभिकर्ता र बीमितहरु आफै बीमा कम्पनीबाट ठगी पर्नुलाई सामान्य रुपमा लिएको देखिएको छ ।
अर्को विषय भने बीमिति र एजेण्डहरुले ऋण सुविधा लिंदा कम्पनीले आफै धेरै ऋण देखाएर आफै चलाइरहेको देखिएको छ । जुन विषयमा बीमा कम्पनीका कर्मचारीहरुको ठूलो बदमासी देखिएको छ । यस विषयलाई प्रमुख नियमक निकायले सामान्य रुपमा लिई जानकारी अवगत मात्रै गराएको छ । अध्ययन भने नगरेको देखिएको छ ।
प्रधिकरणका एक अधिकारी भन्छन्,‘ हामीले घटनाको बारेमा जानकारी पाएका छौं । विस्तारै अध्यन गर्दैछौं ।’ हाम्रोअर्थसमक्ष आएको कागजातले भने यस विषय निकै नै पेचिलो र सिरियस देखाएको छ । उजुरी अनुसार अभिकर्तालाई दिने ऋण सुविधा अन्तरगत वार्षिक ८ प्रतिशतमा कमिसन बाट कट्टा हुने गरि दिने लिखित सहमति गरेपनि कानुन विपरित बिना जानकारी बिना सहमति १२ प्रतिशत व्याज काटेको विषय छ । यो विषय प्राधिकरणले निकै नै सिरियस भएर हेर्नुपर्ने देखिन्छ । तर अहिले सम्म यसमा कुनै एक्सन लिएको देखिदैन ।
त्यस्तैगरि कानुन विपरित एलआईसी नेपालको नाममा चेक तयार पारि रकम कम्पनी आफ्नै अनुकुल खर्च गरेको समेत उजुरीमा देखिएको छ । साढे २ वर्ष अघि अर्थात् सन् २०२० अक्टोबरमा सतेन्द्र पाण्डेलाई ऋणि बनाई तीन लाख र सोहि समयमा सतेन्द्र पाण्डे लाई ऋणि बनाई दश लाख कम्पनीकै नाममा चेक तयार गरि कम्पनी आफु अनुकुल गलत मनसायले चलाएको जसमा अधिकारिक व्यक्तिको हस्ताक्षर रहेका छन् ।
यो कर्मचारीले ऋणीको नाममा पैसा हिनामिना गरेको देखिन्छ । बैंकिङ क्षेत्रमा हो भने नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका कर्मचारी र त्यस संस्थाको लाइसेन्स माथि नै प्रश्न उठाउँथ्यो । तर बीमा प्राधिकरण निकै कमजोर नियमकको रुपमा देखिएको छ । प्राधिकरणको नियमन कमजोर रहेको पछिल्लो उदाहरण एलआईसीको यो डरलाग्दो विषयले समेत देखाएको हो । यसको गहिराईमा पुगेर अध्ययन हुन सकिरहेको छैन ।
दोस्रो विषय बिना कुनै प्रक्रिया गैरकानुनि रुपमा पुराना बीमा लेखहरू बाट बीमितलाई ऋणि बनाई एलआईसी नेपालको नाममा चेक तयार गरि सत प्रतिशत रकम कम्पनी आफु अनुकुल खर्च गलत मनसायले खर्च गरेको देखिन्छ । जसमा सिता देवि खडकाको दुई लाख साठि हजार ,मनिषा कुमारी यादवको नाममा एक लाख मात्र लगायत अन्य बीमा धनीहरुको बीमालेखबाट कम्पनीले ऋण निकाली कम्पनीकै नामले चेक तयार गरि कम्पनी अनुकुल सत प्रतिशत दुरुपयोग गरिसकेको र त्यसमा अधिकारिक व्यक्ति कम्पनीको हस्ताक्षर भएको प्रमाण हाम्रोअर्थमा आएको हो । करिव १ करोड रुपैयाँ कर्मचारीले बदमासी गरि चलाएको समेत देखिएको हो ।
यसबारे एलआईसी इन्स्योरेन्सका सूचना अधिकारी सुर्दशन गिरीसँग जानकारी लिन खोज्दा उनले समेत बीमा प्राधिकरणको कुनै डर नरहेको संकेत गरे । उनले भने, ‘हामीले सबै कुरा प्राधिकरणमा बुझाएका छौं । सबै कुरा उताबाट नै बुझ्नुहोस् , यो कुरा धेरै पुरानो हो अहिले खोतलेर केहि हुँदैन ।’
उनको यो भनाई अनुसार प्राधिकरणले समेत केहि गर्न नसकेको र यस विषय समाचारमा आएर कुनै फरक नपर्ने आशय देखिएको छ । पीडित भनिएका सतेन्द्र पाण्डे सहित अन्य बीमितहरु गौर र जनकपुर शाखासँग जोडिएका छन् । उनीहरुले प्रहरी कार्यालय देखि प्रदेश मन्त्रालय र संघीय सरकारको गृह मन्त्रालयसम्म उजुरी दिएका छन् ।
हाम्रोअर्थसमक्ष आएको प्रमाणहरुको बारेमा नियमक निकाय मार्फत प्रमाणित गरि आगामी दिनमा समेत समाचार सम्प्रेषण जारी राखिने छ ।