भरतपुर महानगरपालिका र चीनको छोङ छिङ सिटी बीच भगिनी सम्बन्ध कायम

चितवन । भरतपुर महानगरपालिका र चीनको छोङ छिङ सिटी बीच भगिनी सम्बन्ध कायम भएको छ । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र छोङ छिङ सिटीका मेयर हुहङ ह्वाले सम्झौता–पत्रमा हस्ताक्षर गरे ।

सम्झौतामा दुवै पालिकाले साझा समृद्धि र विकासलाई अभिवृद्धि गर्न व्यापार लगानी, सहरी व्यवस्थापन, संस्कृति, पर्यटन, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्ने जनाइएको छ ।

दुई पक्षबीचको मैत्रीपूर्ण आदान–प्रदान, सहयोगलाई निरन्तर अगाडि बढाउन, सरकारी विभागहरू र तहहरूमा सुदृढ गर्न निरन्तर सम्पर्क गर्ने जनाइएको छ । सोही कार्यक्रममा छोङ छिङ, अदिस अब्बा, सिभ्ली, भरतपुर र उत्तर ढाकाबीच पनि हस्ताक्षर भएको थियो ।

यसअघि भरतपुर महानगरपालिका प्रमुख दाहाल र छोङ छिङ सिटीका पार्टी सेक्रेटी प्रमुख यान जाईजुनबीच भेटवार्ता भएको थियो । सो अवसरमा दुई देश बीचको सम्बन्धलाई नयाँ उचाईमा लैजान भरतपुर र छोङ छिङ बीचको भगिनी सम्बन्धले थप मद्दत पुराउने विश्वास गरिएको थियो ।

दुई सहरका नागरिक स्तरको सम्बन्ध कायम गर्दै एक अर्काको विकासमा सहयोग पुराउने बारेमा छलफल पनि भएको थियो । सो अवसरमा प्रमुख दाहालले भरतपुरको संक्षिप्त परिचय दिदै भरतपुरको विकास र ठूला पूर्वाधार निर्माणमा लगानी गर्न छोङ छिङ सरकार र उद्योगीलाई आग्रह गरिन् ।

भरतपुर महानगरपालिका र छोङ छिङबीच अन्तर्राष्ट्रिय मित्रवत सम्बन्ध र आपसी सद्भाव वृद्धि गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सहभागी हुने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गरकी थिइन् । उनले हिमालयको देश नेपालको मध्य भागमा अवस्थित सुन्दर नगरी भरतपुर महानगरपालिकाको तर्फबाट विषेश आभार प्रकट गरिन् ।

सम्मेलनले नेपाली नागरिक र चिनियाँ नागरिक बीचको जनस्तरको सम्बन्धलाई थप बलियो बनाउनुका साथै छोङ छिङ सिटी र भरतपुर महानगरबीच सुमधुर सम्बन्धको सुरूवात भएको बताइन् । भरतपुरमा केही महत्वपूर्ण विकास आयोजनाहरू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, भरतपुर–छुङसिङमैत्री पार्क, विश्वस्तरको पर्यटकीय होटल तथा कृषिजन्य उद्योगहरु स्थापनाको लागि लगानी गर्न चिनियाँ सरकार, छोङ छिङ सिटी र व्यवसायीक घरानालाई आग्रह पनि गरिन् ।

चीनले छोटो समयमा हासिल गरेको गरिबी निवारण विश्वको लागि अनुकरणीय उपलब्धि भएको सो अवसरमा उनले बताइन् । साथै भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चीन र सम्पूर्ण नागरिकलाई भरतपुर भ्रमणका लागि निम्तो पनि दिइन् ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालको नेतृत्वमा उपप्रमुख चित्रसेन अघिकारी, विज्ञ प्रेस सल्लहाकार सुरेशचन्द्र अघिकारी, उपनिर्देशक जगन्नाथ अर्याल, ई।साकार लामा, सुचना तथा वैदेशिक समवन्य शाखा प्रमुख मेनका पण्डित, विज्ञ सल्लाहकार अनिलकुमार पाठक, कृष्ण बगाले, गीता कुँवर अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स