१० महिनामा प्रमुख १० भन्सार कार्यालयबाट झण्डै ११ खर्बको आयात

काठमाडौं । अन्तर्राष्ट्रिय ब्यपारको लागि २९ वटा भन्सार कार्यालय रहेका छन् । भारत र चीनसँग जोडिएको २६ वटा र दुई वटा अन्तराष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय रहेको छ भने चोभार सुख्खा बन्दरगाहमा पनि भन्सार कार्यालय रहेको छ ।

संचालनमा रहेको मध्ये विरगंज भन्सार कार्यालयबाट सबैभन्दा धेरै बैदेशिक ब्यापार हुने गरेको छ । सबैभन्दा धेरै बैदेशिक ब्यापार हुने १० भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको वैशाख महिनासम्म १० खर्ब ९३ अर्ब ८२ करोड २४ लाख रुपैयाँको वस्तु आयात भएको छ । ती भन्सार कार्यालयबाट सोही अवधिमा १ खर्ब १६ अर्ब ४० करोड ३ लाख रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

विभागका अनुसार आर्थिक वर्षको वैशाख महिनासम्म सबैभन्दा बढी बीरगञ्ज भन्सार नाकाबाट वस्तु आयात भएको छ । सो भन्सार कार्यलयबाट ४ खर्ब ४७ अर्ब ३४ करोड ४ लाख रुपैयाँको आयात भएको छ भने २५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँको निर्यात भएको हो ।

त्यसैगरी दोस्रो नम्बरमा बढी आयात गर्ने भैरहवा भन्सार कार्यलय रहेको छ । उक्त भन्सारबाट १ खर्ब ९६ अर्ब ८१ करोड ७६ लाख रुपैयाँको निर्यात भएको छ । सो भन्सारबाट १० अवधिमा ११ अर्ब ३२ करोड १८ लाख, नेपालगञ्ज भन्सारबाट ५८ अर्ब ४१ करोड १४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।

१० महिना अवधिमा बिराटनगर भन्सारबाट १ खर्ब ३८ अर्ब ६९ करोड ५२ लाख, त्रिभुवन अन्तराष्ट्रिय एरपोटबाट १ खर्ब १७ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ वस्तु तथा सेवा आयात भएको छ । त्यसैगरी यता तातोपानी नाकाबाट ३१ अर्ब २ करोड ७२ लाख, कैलाली भन्सारबाट १९ अर्ब १ करोड २३ लाख, मेची भन्सार कार्यलयबाट ३६ अर्ब ४६ करोड ४६ लाख, रसुवा भन्सारबाट ४६ अर्ब २९ करोड ७१ लाख र सिराहा भन्सारबाट २ अर्ब २५ करोड ७० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्षको (साउनदेखि वैशाख) महिनासम्म विभिन्न कुल भन्सार नाकाबाट १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ भने सोही अवधिमा १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँको निर्यात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स