काठमाडौं । कान्तिपुर टेलिभिजन तथा कान्तिपुर पत्रिकाका संचालक अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वको टोलीले सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालयबाट पक्राउ गरेको हो ।
मंगलबार जिल्ला अदालत, धनुषाले पक्राउ पुर्जी जारी गरेपछि सिरोहीले आज दिउँसो एक विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका थिए ।
उनले सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको बताएका छन् । जस्तो सुकै घडीमा पनि कान्तिपुर निर्भिक रूपमा उभिने विज्ञप्तिमा उल्लेख छ ।
सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।