गृहमन्त्री लामिछानेको बैंक खातामा १ लाख १० हजार रुपैयाँ, सुन र जग्गा श्रीमतीको नाममा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको विवरण अनुसार लामिछानेको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा रहेको छ । उक्त सम्पत्ति पैतृक स्रोतबाट प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ । पैतृक सम्पत्तिबाट प्राप्त उक्त जग्गाबाहेक अरु सबै पत्नी निकिता पौडेलको नाममा रहेको विवरणमा उल्लेख छ ।

उनको ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ र नेपाल बैंक लिमिटेडमा १ लाख १० हजार रुपैयाँ छ ।

उनको श्रीमती निकिता पौडेलको नाममा बुढानिलकण्ठ नगरपालिका ८ काठमाडौंमा ५ आना जग्गामा बनेको घर रहेको छ ।

उक्त घर ३ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको र १ करोड ५० लाख रुपैयाँ ऋण चुक्ता गर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

उनको श्रीमती निकिताको नाममा गोपिकृष्ण प्रा.लि. कम्पनीमा २५ प्रतिशत सेयर रहेको र गोपिकृष्ण प्रा.लि.मा नाममा १० रोपनी ८ आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

लामिछानेले श्रीमती निकितासँग करिब ८० तोला सुन र १५.२ केजी चाँदीको भाँडाकुडा रहेको विवरण पेश गरेका छन् । यसका साथै लामिछानेले बुझाएको विवरणमा श्रीमती निकिताको नाममा रहेका बैंक खातामा ५ लाख ५८ हजार ५११ रुपैयाँ रहेको उल्लेख छ ।

लामिछानेले श्रीमती र आफ्नो निजी आयबाट ४२ लाख रुपैयाँ पर्ने नेक्सन इभी गाडी खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ।

निकिता नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक रहेको उल्लेख गरिएको छ । नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

दुवै कम्पनीको हाल बजार मूल्य करिब ४ करोड रुपैयाँ भएको समेत सम्पत्ति विवरणमा जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स