काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार लगायत सबै राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन् ।
मेयर बालेनले सामाजिक सञ्जाल फेसबुक मार्फत लेख्दैं उनले सो कुरा बताएका हुन् ।
उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ’।
उनले जबसम्म चालकहरूलाई स–सम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर नउठाउने बताएका छन् ।
‘को-को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाँकी छोडिँदैन,’ उनले लेखे ।
बन्चरेडाँडामा फोहोर बोकेर जाने गाडीमा अवरोध भएपछि फोहोर बोकेका गाडी कोटेश्वर क्षेत्रमा पार्किङ गरिएको थियो । तर, ट्राफिक प्रहरीले ती गाडीका चालकहरूलाई नियन्त्रणमा लिएको महानगरले जनाएको छ ।