काठमाडौं । बजेट पछिमात्रै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति हुने भएको छ।
छनौट समितिका संयोजक तथा योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बजेट पछि नियुक्ति हुने बताएका हुन् ।
उनले बजेटको काममा व्यस्त भएका कारणले अध्यक्ष नियुक्ति ढिला हुन गएको बताए । उनले अध्यक्ष नियुक्ति प्रक्रिया आफ्नो काबुभन्दा बाहिर रहेको भन्दै अन्य व्यक्तिको कारणले ढिला सुस्ति हुन गएको धारण व्यक्त गरे।
‘अर्थमन्त्री, अर्थसचिव परिवर्तन हुँदा पनि यस विषय पछि सर्दै गएको हो।’ उनले भने, ‘अहिले सबै बजेट निर्माणमा लाग्दा सेबोनको अध्यक्ष नियुक्तिको विषयले प्राथमिकता पाएको छैन ।’
नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ, नेपाल स्टक एक्सजेन्स वर्तमान प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक द्वय डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ तथा डा. विमल तिवारीको नाम सर्टलिष्टमा छन् ।
आवेदन दिनेहरुमध्येबाट सेबोन अध्यक्ष छनोटसमितिले पाँच जनालाई सर्ट लिस्टिङ गरेर अन्तरवार्ता तथा प्रस्तुतीकरणका लागि बोलाउने छ । तीमध्ये तीन जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने छ । मन्त्रीपरिषदले ३ जनाबाट एक जना धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।
बोर्डमा अध्यक्ष नियुक्तका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौलालाई नियुक्त गरेको थियो । समितिले फागुन १६ गते बोर्डमा अध्यक्ष चयनका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो । बोर्डको अध्यक्ष पद पुस २१ गतेदेखि रिक्त रहेको छ ।