काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सुरक्षण मुद्रण केन्द्रमा रहँदा भ्रष्टाचार गरेको भन्दै केन्द्रका निवर्तमान कार्यकारी निर्देशक पौडेलविरुद्ध आयोगले तेस्रो भ्रष्टाचार मुद्दा गरेको हो ।
सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको भनी पौडेलसहित ३ जनाविरुद्ध मुद्दा दायर भएको हो ।
अख्तियारले उनीहरूमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
अख्तियारले पौडेल सहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नविन कुमार पोखरेल विरुद्ध पनि मुद्दा दायर गरेको हो ।