काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ६ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको थियो।
समिक्षा अवधिमा कम्पनीले १ अर्ब ३९ करोड १३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्ष कम्पनी २ अर्ब २ करोड रुपैयाँ नोक्सानीमा थियो । गत वर्षको तुलनामा कम्पनीको नोक्सानी घटेको हो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ७.६४ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४९.१८ प्रतिशत र वित्तीय खर्च ८.१४ प्रतिशत घटेको छ।
हालसम्म कम्पनीको लङ ट्रम लोन ७२ अर्ब ६१ करोड रुपैयाँ भन्दा धेरै छ ।
कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ८ अर्ब ६९ करोड रुपैयाँ ऋणात्मक रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ८.७६ प्रतिशत ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ६३.२५ रुपैयाँ रहेको छ।