भारतद्वारा सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडौं । पाटन नगरपालिकाका मेयर गौरी सिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले भूमेश्वर माध्यमिक विद्यालय भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन् । आज ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. ३.१०५ करोड आर्थिक सहयोगमा नेपालको बैतडी जिल्लाको पाटन नगरपालिका–४ मा निर्माण हुने उक्त भवनको शिलान्यास गरिएको हो ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तल्ले विद्यालय भवन ब्लक–ए र ब्लक–सीको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ र बैतडीको पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको छ ।

कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । बैतडीको पाटन नगरपालिकास्थित श्री भूमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पु¥याउनेछ ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४९० वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा २ वटा परियोजना बैतडीमा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६८ वटा एम्बुलेन्स र २९ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ५ वटा एम्बुलेन्स बैतडी जिल्लालाई उपलब्ध गराइएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स