काठमाडौं । सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय फिर्ता लिने भएको छ । नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेकोप्रति भारतले असन्तुष्टि जनाएको थियो ।
भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका थिए । भारतले असन्तुष्टी जनाएपछि सरकारले उक्त निर्णय फिर्ता लिन लागेको स्रोतले जनाएको छ ।
अब बस्ने मन्त्रिपरिषदको बैठकमा एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय फिर्ता लिने प्रस्ताव जाने भएको छ । भारतको चर्को दवालपछि योसँगै, अब एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा अर्थात् चुच्चे नक्सा नराखिने भएको छ ।
नेपालले २०७७ जेठ ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले एक विशेष कार्यक्रमका बीच कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनीतिक नक्शा औपचारिक रूपमा सार्वजनिक गरेकी थिइन् ।
नक्सालाई नेपालको संघीय संसद्ले अनुमोदनसमेत गरिसकेको छ । नेपालले सुगौली सन्धिअनुसार काली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्शा लागू गरेको थियो ।
भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा रहेको नेपालको नक्शामा समावेश थिएनन् । नेपालको नयाँ नक्शामा लिम्पियाधुरामाथिबाट बग्ने काली नदीपूर्वका गुन्जी, नाभी, कुटीलगायतका भूभाग समेटिएको छ ।
यता नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले नेपालको सयको नोटमा नयाँ (चुच्चे) नक्सा राख्ने निर्णयमा भारतले प्रतिक्रिया दिनु कूटनीतिक मर्यादाविपरीत भएको बताए ।
सांसद कुँवरले नेपालको नोटमा के राख्ने र के नराख्ने भन्ने कुरा नेपाल स्वयंको विषय भएको बताए । उनले नेपालको सयको नोटमा नयाँ नक्शा राख्ने सरकारको निर्णयमा भारतका विदेशमन्त्रीले असन्तुष्टि जनाउनु कुटनीतिक मर्यादा विपरित भएको भन्दै आपत्ति जनाए ।
सार्वभौमसत्ता सम्पन्न देशले गरेका निर्णयप्रति छिमेकी देशले असन्तुष्टि जनाउन आवश्यक नभएको उनको भनाइ थियो ।