काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ ।
आज परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पार्टीका अध्यक्ष डा. सीके राउतले ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेको हो ।
प्रवासी नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको विषयमा गम्भीर भई अहिलेदेखि नै सोको तयारी गर्न गराउन पार्टीले आग्रह गरेको हो । ज्ञापनपत्रमा बुझाउँदै विभिन्न देशमा रहेका नेपालीहरूले राहदानी नवीकरण गर्न महिनौंसम्म कुर्नुपर्ने बाध्यता हटाउन आग्रहसमेत गरिएको छ ।
कर्मचारी थप्ने, राहदानी नवीकरण केन्द्र तथा शिविर तथा अनलाइन सेवा सञ्चालनसहितका उपाय अपनाएर राहदानी नवीकरणलाई छिटोछरितो बनाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।
पार्टी सचिव बिपी साहले जनमत पार्टी सम्बद्ध प्रवासी जनमत संघ र गैरआवासीय मधेसी संघलाई पहिचान गर्न मातहतका दूतावास तथा नियोगलाई सर्कुलर जारी गर्न र सर्वपक्षीय बैठकमा सहभागी गराउन आग्रह गरिएको बताए ।