काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले चैत महिनासम्म सबै भन्दा बढी व्यापार बागमती प्रदेशमा गरेका छन् । निर्जीवन बीमा व्यवसायमा बागमती प्रदेशको व्यवसाय सबैभन्दा बढी देखिएको छ ।
बीमा व्यवसाय गर्ने कम्पनीहरूले चालु आर्थिक वर्षको चैत महिनासम्म आर्जन गरेको बीमा शुल्कमध्ये ६५.४४ प्रतिशत हिस्सा बागमती प्रदेशको रहेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
चालु आवको (साउनदेखि चैत) अन्त्यसम्म सातै प्रदेशमा विभिन्न बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले २२ लाख ६२ हजार ३२६ पोलिसी जारी गरेर ३० अर्ब १५ करोड ३० लाख रुपैयाँ व्यापार गरेका छन् । कम्पनीहरूले गत आवको यसै अवधिमा यस्तो बीमा व्यवसाय ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।
तेस्रो त्रैमाससम्म बीमा व्यवसाय गर्ने बीमकहरूले सबै भन्दा बढी व्यापार मोटर बीमामा गरेका छन् । बीमा कम्पनीहरूले चैत अन्त्यसम्म १३ लाख ८ हजार ७५१ पोलिसी जारी गरेर ९ अर्ब २८ करोड ९२ लाख रुपैयाँ कुल प्रिमियम संकलन गरेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
बीमा व्यवसाय गर्ने कम्पनीहरूले सातै प्रदेशमा सम्पत्ति बीमाम ३ लाख ७९ हजार ७८६ पोलिसी जारी गरेर ७ अर्ब ४२ करोड ७१ लाख रुपैयँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी सामून्द्रिक बीमामा २ लाख ३१ हजार ५१२ पोलिसी जारी गरेर १ अर्ब ४७ करोड ४१ लाख, हवाईमा एक सय पोलिसी जारी गरेर १ अर्ब ९७ करोड ८२ लाख, इन्जि.तथा ठे.जो २० हजार ८४४ पोलिसी जारी गरेर ७ अर्ब ७५ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
समीक्षा अवधिमा बीमा कम्पनीहरूले विविधमा एक लाख २१ हजार ८७८ पोलिसी जारी गरेर ३ अर्ब ३८ करोड ६५ लाख, कुषि तथा बालीमा १ लाख १३ हजार ६४५ पोलिसी जारी गरेर १ अर्ब ६७ करोड ६२ लाख र लघुमा सबै भन्दा कम ८५ हजार ८१० पोलिसी जारी गरेर १७ करोड २ लाख रुपैयाँ प्रिमियम संकलन गरेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।