काठमाडौं । वीरगंजको बाइपास रोडमा रहेको नबिल बैंकको शाखा चोरी भएको छ । आइतबार बिहान वीरगंजको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको हो।
बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
चोरको एक समूहले आइतबार बिहान करिब चार बजे बैंकको ताल्चा फुटाई भित्र पसेको देखिएको पर्सा प्रहरीले जनाएको छ । चोरहरको समूहले वेल्डिङ गर्ने मेसिनले टिनको बक्सा काटेर नगद निकालेको र बोरामा हालेर लगेको प्रहरीको भनाइ छ।
चोरले टिनको बक्सा फुटालेर एक सय र २० रुपैयाँको नोट चोरी गरि बोरामा हालेर लगेको प्रहरीले जनाएको छ ।
बैंकको भल्ट भने सुरक्षित नै रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाले बताए ।
बैंकको ताल्चा फुटाएका चोरले चोरी गरि फर्किने क्रममा गेटमा नयाँ ताल्चा लगाइदिएका थिए । बैंकको गार्डले बिहान ताल्चा खोल्दा नयाँ ताल्चा लगाइएको पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहबरमा ताल्चा फुटाएर भित्र प्रवेश गर्दा बैंकमा चोरी भएको पाइएको थियो।
चोरी भएको पैसा एकिन गरि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।